PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रधानमन्त्री देउवाद्वारा भाइटीकाको शुभकामना



प्रधानमन्त्री देउवाद्वारा भाइटीकाको शुभकामना

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भाइटीकाको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। आज बिहान एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका हुन्।

'भगवान सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीको घरमा गई पाँच दिनसम्म बसेर रमाईलो गरेको हुँदा यसैको सम्झनास्वरुम यमपञ्चकको रुपमा पाँच दिनसम्म मनाईने, ढोकामा ओखरलाई फोडेर दिदीबहिनीहरुले दाजुभाईहरुको पूजा गर्दै दीर्घायूको कामना गर्ने विशेष दिन एवं नेपालीहरुको महान चाड तथा उज्यालोको पर्व तिहारको अन्तिम दिन भाइटीकाको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायूको शुभकामना व्यक्त गर्दछु,' प्रधानमन्त्री देउवाले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।

देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन अनुरोध गरेका छन्।

'सरकारको निरन्तरको प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको सहयोगले कोभिड-१९ बिरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल गरिएको छ। कोभिड-१९को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशिल भएको हुँदा होसियारीपूर्वक यस किसिमका चाडपर्वलाई केहि हदसम्म आपसी रुपमा बसेर मनाउन सक्ने भएका छौ,' शुभकामना सन्देशमा भनिएको छ, 'अझैपनि कोभिड १९को जोखिम कायमै रहेको र सवै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड-१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुसियालीकासाथ मनाउन हार्दिक अनुरोध गर्दछु।'

सन्देशमा प्रधानमन्त्रीले यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गर्दै आम नागरिक र राज्यका सबै निकायको आ–आफ्नै भूमिका एवं कार्यक्षेत्र रहने हुँदा सबैले आफ्नो भूमिकालाई बिर्सेर हिँड्न खोज्यौँ भने त्यसले हामी कसैलाई सफलता र खुशी दिन नसक्ने बताएका छन्। देउवाले तिहारजस्तो दिदीबहिनी र दाजुभाइको मिलन गराएर आपसी भाइचाराको सम्बन्ध बढाउने पर्वले हामी सबैलाई त्यो किसिमको प्रेरणा र खुशी देओस् भन्ने कामना गर्दै मुलुकमा शान्ति, अमनचयन र सुशासनको प्रत्याभूतिमा उचाइ हासिल गर्न मद्दत पुगोस् भन्ने कामनासमेत व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell