PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एमालेका विरोधीलाई फेसबुकबाटै धुलो झर्ने गरी सातो लिन सक्छौं : ओली, 'हामीसँग टेलिभिजन चलाउने पैसा छैन'



एमालेका विरोधीलाई फेसबुकबाटै धुलो झर्ने गरी सातो लिन सक्छौं : ओली, 'हामीसँग टेलिभिजन चलाउने पैसा छैन'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आफ्ना विरोधीलाई फेसबुक स्टाट्समार्फत धुलो पिठो बनाउन निर्देशन दिएका छन्। कर्णाली प्रदेश सम्पर्क कमिटीको देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले टेलिभिजनले गलत कुरा देखाइरहेकाले फेसबुकमार्फत आफू विरोधिलाई ठीक पार्न ओलीले निर्देशन दिए।

'हरेकसँग मोबाइल छ। कसैले  गलत कुरा लेख्यो भने त्यसको तल भरमार कमेन्टले धुलो झर्ने गरेर, फेरी देखि त्यस्तो कमेन्ट गर्न नसक्ने गरी सातो लिन सक्छौ,'ओलीले भने। उनले फेसबुक स्टाट्समार्फत अन्तराष्ट्रिय शक्तिहरुको हमलालाई निस्तेज बनाउन कार्यकर्तालाई निर्देशन दिए। उनले एमालेसँग टेलिभिजन चलाउने पैसा नभएको बताए। अहिलेका टेलिभिजनहरुलाई कुनै न कुनै पार्टीले चलाइरहेको दाबी गर्दै ओलीले टेलिभिजनले आफ्नो भाषणलाई काटेर भ्रम फैलाइरहेको आरोप लगाए।

'अब टेलिभिजन कहाँबाट चलाउने? आफ्ना नियमित कार्यक्रम, महाधिवेशन जस्ता सभाहरुलाई त गारो गारो परिरहेको छ। हामीले अतिरिक्त खर्च गरेर २/४ अर्ब खर्च गरेर चलाउन सक्दैनौँ। हाइफाइवाला नयाँ नयाँ चिजहरु हामीले चलाउन सक्दैनौं। तिनीहरुलाई कसले चलाइरहेका छन् तिनिहरुको आवाज सुनेर थाहा पाइन्छ,' उनले भने।

एमाले नभएको भए अहिले १७ साल आइसक्ने ओलीले दाबी गरे। संविधानलाई अहिलेको गठबन्धनले एमाले नभएको भए च्यातिसक्ने ओलीको तर्क छ। 'हामी हुँदैन थियौँ भने एमाले हुँदैन थियो भने १७ साल अस्ति नै आइसक्थ्यो। ७ सालपछि १७ साल आइहाल्यो नि। संविधानको एउटा किताब न हो च्यात्न समय लाग्दैन,' उनले भने। उनले एमालेले लोकतन्त्र छोड्न नसक्ने बताए। अहिलेको सत्ता गठबन्धन अपवित्र रहेको भन्दै ओलीले संविधानको भक्षक भएको आरोप लगाउँदै भने,'यो अहिलेको गठबन्धन छ राधेराधे लगाएका हुन् कि रामराम लगाएका हुन कि कृष्ण कृष्ण लगाएका हुन् यि सबै लोकतन्त्रका भक्षकहरु हुन्।'

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १७ हजार नेपालीलाई मारेर बाँचेको आरोप लगाए। जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले माओवादी युद्धका बेलामा पनि छोराछोरीलाई विदेशमा पढाएका भन्दै ओलीले भट्टराईको सम्पत्ति विवरणमाथि प्रश्न उठाए। 'प्रचण्ड त बाँचे नि, १७ हजार मरे। बाबुराम त बाँचे नि, बाबुरामका छोराछोरी बेलायत पढ्थे। हामीले बेलायत जाने भिसा पाउँदैन थियौँ। एउटा भूमिगत बाबुका छोरा नागरिकता त चाहिन्छ कुन पासपोर्ट पाउनुभो बाबुराम जि बताउनुस त? तपाइको कहाँको आम्दानीले पढाउनुभएको थियो? उहाँहरु युरोप घुम्नुहुन्थ्यो। मैले पासपोर्ट पाएको सांसद भएपछि हो,' ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell