PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सकियो गठबन्धनको विदा : मन्त्रिपरिषद् बैठकपछि यी विषयमा गृहकार्य गर्दै



सकियो गठबन्धनको विदा : मन्त्रिपरिषद् बैठकपछि यी विषयमा गृहकार्य गर्दै
FILE PHOTO

काठमाडौं : सत्ता गठबन्धन अब हुने राष्ट्रिय सभाको निर्वाचन, प्रदेश र प्रतिनिधि सभाको उपनिर्वाचनका लागि तयारीमा जुटेको छ। गठबन्धनले उक्त विषयमा रणनीति बनाउन बैठक बस्ने तयारी गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन। प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा गएपछि लामो सयमसम्म गठबन्धनको बैठक बस्न सकेको थिएन। तिहार बिदा सकिए लगत्तै फेरि गठबन्धन छलफलमा जुटेको हो।

यस्तै, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा पनि गठबन्धनले साझा धारणा बनाउनका लागि गृहकार्य गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले एमसीसीलाई पास गर्ने प्रतिवद्धता सहितको पत्र पठाएको बताएपछि गठबन्धनका नेताहरुले देउवा-प्रचण्डको भूमिकामाथि प्रश्न उठाइरहेका छन्। उक्त विषयमा गठबन्धनमा संसय पैदा भएकाले छलफलको तयारी भएको हो। 

गठबन्धनको बैठकमा छलफल गरेर आआफ्नो पार्टीमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्नुपर्ने निचोडमा सत्ता घटक दलका शीर्ष नेताहरु पुगेका छन्। त्यसका लागि माओवादी केन्द्रले मंगलवार विहान ११ वजे स्थायी कमिटीको बैठक बोलाएको छ। उक्त बैठकमा एमसीसीबारे अध्यक्ष प्रचण्डले पठाएको पत्रबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए।

गठबन्धनमा रहेका पाँच दल मध्य नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीले साथ दिइरहेका छन्। राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागिता नजनाएरै सरकारलाई सहयोग गरिरहेको छ।

यस्तै, आजै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। उक्त बैठकपछि गठबन्धनको बैठक बस्ने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell