PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

होटल सञ्चालक हत्या आरोपी पक्राउ : होच्याएर बोल्दा रिसइबी साँधेको बयान



होटल सञ्चालक हत्या आरोपी पक्राउ : होच्याएर बोल्दा रिसइबी साँधेको बयान

कैलाली : कैलालीमा होटेल सञ्चालकको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । गत आइतबार दिउँसो मृत फेला परेका जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरका पदम आचार्यको हत्या गरेको अभियोगमा दैलेखको गुराँस गाउँपालिका–३ खिमडीका १८ वर्षीय जीवन शाही ठकुरी पक्राउ परेका हुन्। आचार्य विगत १ वर्षदेखि जिल्लाको मोहन्याल गाउँपालिका–४ सिम्ली खोला नजिकै होटेल सञ्चालन गर्दै आएका थिए।

उनी आइतबार दिउँसो आफ्नै पसल पछाडि घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए। टाउको तथा छातीमा चोट लागेको अवस्थामा उनी मृत छन् भन्ने जानकारी पाउनासाथ परिचालन भएका प्रहरीको प्रारम्भिक अनुसन्धानले आचार्यको हत्या उनकै होटेलमा खाना खाने ग्राहकले गरेको देखाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार महरा निर्माण सेवामा सञ्चालित टिपरमा खलासी काम गर्ने ठकुरी तिहार बिदाको बेला एक्लै निर्माण सेवाको रेखदेख गर्छु भनेर घर गएका थिएनन्। उनले बिदाको समयमा आचार्यको होटेलमा खाना खाने गरेका थिए।

शनिवार साँझ आफै पकाएको मासु बोकेर आचार्यको होटेलमा गएका उनले सुरुमा आचार्यसँग एक क्वाटर ‘रहर’ नामक रक्सी मागेर खाए। त्यसपश्चात् उनीहरूबिच सामान्य विवाद भएर आचार्यले ठकुरीलाई दुई लट्ठी हिर्काउँदा उनले रडले हिर्काएर हत्या गरेको देखिएको छ। ‘आफूलाई होच्याएर बोल्ने शैलीका कारण आचार्यसँग सामान्य रिसइबी रहेको र सोही क्रममा विवाद हुँदा हत्या गरेको ठकुरीले स्वीकारेका छन्,’ विष्टले भने, ‘घटनाका विषयमा थप अनुसन्धान जारी छ।’

प्रहरीले ठकुरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनी आचार्यको हत्या भएको भोलिपल्टबाट फरार भएका थिए। अनुसन्धानका क्रममा बाँकेको नेपालगन्ज पुगेको खुलेपछि कैलाली तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई बाँके प्रहरीको सहयोगमा नेपालगन्जबाट पक्राउ गरेको थियो। उनी शनिवार राती १० बजे आचार्यको हत्या गरेर आफ्नो पुरानै सुत्ने कोठामा सुतेको र आइतबार ५ बजे त्यहाँबाट भागेको प्रहरीले जनाएको छ। उनीमाथि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell