PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

वारपारतर्फ प्रधानन्यायाधीश र न्यायाधीश विवाद : चोलेन्द्रले सबै मुद्दाको पेसी तोक्दा न्यायाधीशहरु इजलास नजाने



वारपारतर्फ प्रधानन्यायाधीश र न्यायाधीश विवाद : चोलेन्द्रले सबै मुद्दाको पेसी तोक्दा न्यायाधीशहरु इजलास नजाने
फाइल फोटो

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्चका अन्य न्यायाधीशबीचको विवाद वारपारतर्फ उन्मुख भएको छ। प्रधानन्यायाधीश जबरा र उनी बाहेकका अन्य न्यायाधीश आ–आफ्नो रणनीतिमा केन्द्रित भएका छन्। सोमबारसम्म बन्दीका मुद्दामात्र पेसी तोकेका जबराले मंगलबार सबै प्रकारका मुद्दा राखेर दश वटा इजलास गठन गरेका छन्। आफूलाई एकल र अन्य सबै न्यायाधीशलाई संयुक्त इजलासमा पेसी उनले तोकेका छन्।

सोमबार प्रधानन्यायाधीश जबराले आफू निकटहरुसँग मंगलबारदेखि नियमित रुपमा मुद्दाको पेसी तोक्ने जनाउ दिएका थिए। प्रधानन्यायाधीशको सन्देशसँगै न्यायाधीशहरुले बन्दीबाहेकका अन्य मुद्दा तोकिए इजलास नबस्ने सन्देश दिइसकेका छन्। दुबै पक्षबाट स्पष्ट सन्देश हुँदाहुँदै प्रधानन्यायाधीशले मुद्दाको पेसी तोकेका हुन्। जसकारण जारी विवादमा दुबै पक्ष वारपारको मुडमा पुगेका हुन्।

प्रधानन्यायाधीश जबराले आफू इतरका न्यायाधीशलाई मुद्दा हेर्ने संवैधानिक दायित्व पूरा गर्न आग्रह गरिसकेका छन्। जबराले संवैधानिक दायित्व पूरा नगर्ने अवस्थामा पदमै रहेर आफ्नो राजीनामाको विषय नउठाउन भनिसकेका छन्।

जबरा निकट स्रोत भन्छ, ‘उहाँले न्यायाधीशहरुलाई सोमबार नै स्पष्ट रुपमा भनिसक्नुभएको छ। मंगलबारदेखि नियमित रुपमा मुद्दाको पेसी तोकिन्छ। तपाईँहरु इजलास नबसी राजीनामा माग गर्ने भए आफू राजीनामा दिएर माग्नुस्। अन्यथा मुद्दाको सुनुवाइमा सामेल हुनुस्।’

जबराले अन्य न्यायाधीशसँग पेलेर जाने मनस्थिति बनाउँदा अन्य न्यायाधीश पनि आफ्नै रणनीतिमा छन्। न्यायाधीशहरु मुद्दाको सुनुवाइ नगर्ने अडानमा छन्। प्रधानन्यायाधीशको राजीनामाको अडानमै छन्।

यसअघि प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमन लागि राखेको प्रस्तावमा पनि न्यायाधीशहरु सकारात्मक छैनन्। न्यायाधीशहरुले गठन गरेको वार्ता समूहका सदस्यसँग जबराले केही समय बिदा बसेर विवादमा निकास दिने प्रस्ताव गरेका थिए। तर, इतरका न्यायाधीशले नमानेपछि सो विकल्पमा समझदारी नभएको हो।

‘हामीसँग उहाँले एकपटक केही समय बिदा बस्दा निकास हुन्छ भनेर भन्नुभएको थियो। यति समयमा बिदामा बस्ने, त्यसपछि छाड्ने लगायतका कुनै अन्य प्रस्ताव राख्नुभएको छैन’, छलफलमा सहभागी एक न्यायाधीशले भने।

मंगलबार प्रधानन्यायाधीश जबराले विवादमा आफूविरुद्धको आन्दोलनको नेतृत्व गरिरहेका सबै न्यायाधीशलाई पेसी तोकेका हुन्।

सोमबारमात्रै नेपाल बार एशोसिएशनले पनि जबरलाई इजलास नबस्न आग्रह गरेको थियो। साथै जबरासँग बेञ्च सेयर नगर्न अन्य न्यायाधीशलाई पनि आग्रह गरेको थियो। बारको आग्रह विपरीत जबराले आफ्ना लागि पनि मुद्दाको पेसी तोकेका हुन्।

बारले प्रधानन्यायाधीले बोलाउने न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा पनि सहभागी नहुन अन्य पदाधिकारीलाई पनि आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell