PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सत्तारुढ गठबन्धनको समन्वय समिति आवश्यक छैन : प्रकाशमान सिंह, 'काम त सरकारले पो गर्ने हो'



सत्तारुढ गठबन्धनको समन्वय समिति आवश्यक छैन : प्रकाशमान सिंह, 'काम त सरकारले पो गर्ने हो'
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले हालै गठन गरेको समन्वय समिति आवश्यक नरहेको बताएका छन्। आज सर्वोच्च नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीको अवसरमा शोभाभगवतीमा सम्बोधनका क्रममा नेता सिंहले यस्तो बताएका हुन्।

'समन्वय समिति त्यति आवश्यक छ जस्तो मलाई लागेको छ। त्यो त कम्युनिस्टहरुले सरकारलाई पनि कन्ट्रोल गर्ने गरी अघि बढेको हामी देख्छौ,' नेता सिंहले भने, 'डेमोक्रेटिक वेमा यो आवश्यकता देख्दिनँ। सरकारले पो काम गर्ने हो। यो त विधि विपरित हो नि।'

आवश्यक नभई किन निर्माण गरियो भन्ने कुरा आफूलाई थाह नभएको उनको भनाई थियो।

सत्तारुढ पाँच दलीय गठबन्धनले सरकारका काम कारबाहीमा सहयोग भन्दै सोमवार ११ सदस्यीय समन्वय समिति गठन गरेको थियो। हाल गठबन्धनको संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तोकिएको छ।

समन्वय समितिमा कांग्रेसबाट पौडेल र कृष्ण सिटौला सदस्य छन्। यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ छन्। एकीकृत समाजवादीबाट माधव नेपालको नाम तय भएको छ। अर्का एक सदस्यको नाम सिफारिस हुन बाँकी छ। यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट पनि एक सदस्य सिफारिस भएको छैन। हाल उपेन्द्र यादवको मात्र नाम समितिमा राखिएको छ।

यस्तै, गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य छन्। सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्।

सर्वोच्चको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने

नेता सिंहले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए। ‘न्यायालयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन। सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न।’

‘न्यायालयमा देखिएका समस्याको कारण जनतालाई असुविधा भएको छ। कुनै व्यक्तिको स्वार्थका लागि जनताले दुख पाईरहेका छन्,’ उनले भने, ‘संविधानको भावना र मर्म अनुसार विधिसम्वत तरिकाले यो समस्या समाधान गर्नु पर्दछ। अब यसका लागि सरकार नै अग्रसर हुनु पर्दछ।’

उनले आगामी निर्वाचनमा काँग्रेस एक्लै जनतामा जानुपर्ने धारणा समेत राखे। कांग्रेस जनताको पार्टी भएको र जनताले विश्वास गर्ने भएकाले आगामी चुनावमा कांग्रेसले गठबन्धन नगरि एक्ले जनतामा जानु पर्नेमा उनको जोड छ।

कार्यक्रममा नेता सिंहले प्रजातन्त्र प्राप्तिको लागि गणेशमान सिंहले गरेको योगदान स्मरण गरेका थिए। कांग्रेस स्थापना र देशमा प्रजातन्त्र स्थापनाको लागि सर्वमान्य नेता गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको भन्दै नेता सिंहले गणेशमानले देखाएको बाटो वर्तमान काँग्रेसले पछ्याउनु पर्ने बताए। वि.सं २०४६ सालको परिवर्तन पछि तत्कालीन राजाबाट प्रधानमन्त्री हुने प्रस्ताव आउँदा अस्वीकार गरी गणेशमान सिंहले जनताले छानेका व्यक्ति प्रधानमन्त्री हुनुपर्दछ भन्ने सन्देश त्यतिबेला नै प्रवाह गरेको उनले बताए। नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अबसरमा शोभाभगवतीमा रहेको उनको शालिकमा माल्याअर्पण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell