बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएसँगै उनकी प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्ती निकै मुस्किलमा परेकी थिइन्। सुशान्तका बुवा केके सिंहले बिहार प्रहरीमा रियाविरुद्ध धोका, पैसा हडपेको र आत्महत्या गर्न उस्काएकोलगायत आरोपसहित उजुरी दिएका थिए।
सुशान्तको मृत्युसँग जोडिएको लागुऔषध केसमा समेत नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले रियालाई पक्राउ गरेर केही दिन जेल हालेको थियो। साथै, एनसीबीले रियाका सामानहरु जफत गर्नुका साथै बैंक खाता पनि फ्रिज गरिदिएको थियो।
एक वर्षपछि अदालतले आज अभिनेत्री रियाको बन्द गरेको खाता डिफ्रिज गर्ने निर्णय सुनाएको छ। साथै, उनीबाट जफत गरिएका सामग्रीहरु पनि फिर्ता गर्न अदालतले फैसला सुनाएको हो। एनडीपीएस (नार्कोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्ट) अनुसार बन्द भएको खाता रियाले आजदेखि प्रयोग गर्न पाउँनेछिन्।
रिपोर्टका अनुसार रिया चक्रवर्तीले एनडीपीएस अदालतमा आफ्नो बैंक खाता डिफ्रिज गर्न माग गर्दै निवेदन दिएकी थिइन्। आर्थिक रुपमा भाइ पनि आफूमाथि नै निर्भर रहेको समेत उनले बताएकी थिइन्।