काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन मितिमा हेरफेर गरिएको छ। केन्द्रीय निर्वाचन समितिले जिल्लालाई तोकेर कात्तिक २७ वडा तहको निर्वाचन गर्न भनेको थियो।
तर जिल्ला निर्वाचन समितिले वडा अधिवेशन कात्तिक ३० गतेमात्र गर्ने भएको छ। त्यसैगरी पालिका अधिवेशन मंसिर ५ गतेका लागि तोकिएको छ। मंगलवार जिल्ला सभापति विकास लामाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सिन्धु कांग्रेसले जनाएको छ।
प्रदेश क्षेत्र अधिवेशन मंसिर ८ गते र क्षेत्रीय अधिवेशन मंसिर १२ गतेका लागि तोकिएको छ। जिल्ला अधिवेशनको मिति भने सबै तहको अधिवेशन सम्पन्न गरेपछिमात्र तोक्ने तयारी रहेको जिल्ला सचिव बिलबहादुर तामाङले जनाए।
यसअघि कात्तिक ११ गते बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले वडा अधिवेशन कात्तिक २७, गाउँ/नगर अधिवेशन कात्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ गते, प्रतिनिधि सभा क्षेत्री अधिवेशन मंसिर ६ गते र जिल्ला अधिवेशन मंसिर १० गते गर्ने गरी मिति तय गरेको थियो।
१०३ वडा रहेको सिन्धुमा गत असोज ५ गते कांग्रेसको वडा अधिवेशन गरेको थियो। केही वडामा विवादका कारण अधिवेशन रोकिएको थियो।