कैलाली : क्रियाशील सदस्यता विवादले रोकिएको नेपाली कांग्रेस कैलालीको १४ औँ महाधिवेशन अन्तर्गतको प्रक्रिया भोलिबाट शुरु हुने भएको छ। जिल्लाका १ सय २६ वडाहरूमा भोलि हुने वडा अधिवेशनको तयारी पूरा भएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ।
भोलिबाट प्रारम्भ हुने वडा, पालिका, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशनका लागि तयारी सम्पन्न भएको कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले बताए। जिल्लाका १ सय २६ वडाहरूमा १८ हजार २ सय ७३ क्रियाशील सदस्य रहेको उनको भनाइ छ।
‘१३ स्थानीय तहका १ सय २६ वडामा निर्वाचन व्यवस्थापनका सम्पूर्ण सामग्री पुगिसकेका छन्’, उनले भने, ‘हामीले यसको व्यवस्थापनका लागि १ हजार ५ सय १ सदस्यीय समिति गठन गरेका छौँ। जिल्लामा कहीँ पनि विवाद नरहेकाले शान्तिपूर्ण र मर्यादित तवरले १४ औँ महाधिवेशन अन्तर्गतको प्रक्रिया भोलिबाट प्रारम्भ भएर हुने छ।’