- लिलाराज खतिवडा -
राणाहरु मासिएनन्, झन् बढे। पञ्चहरु पनि मासिएनन्, झन् बढे। दलहरु मासिने बेला हुँदैछ र झन्झन् बढिरहेका छन्। कुनै वर्ग वा जातिविशेषको कुरा नभएर यो संस्कारको कुरा हो। राणा, पञ्च र राजनीतिक दलहरुको संस्कारको कुरा। मुलुकको आम जनसंख्याको समग्र मनोविज्ञानलाई केलाउँदा उनीहरुमा तिनै स्वार्थी र कुलिन राणा, शक्ति पिपासु र निरंकुश पञ्च तथा अराजक र भ्रष्ट राजनीतिक दलहरु हाबी छन्।
यहाँ सबलाई शक्ति र पैसा चाहिएको छ। उनीहरुका बालुवा महलहरु स्वार्थ र अहंकारले चुलिन खोज्छन्। सयमा पचहत्तर जनता भ्रष्ट र अराजक छन्। यहाँ अधिसंख्यक मानिसहरु आपराधिक र कुण्ठाग्रस्त पनि छन्।
जताततै पैसा बनाउने होड छ र त्यसका निम्ति मानिसहरु जस्तै जघन्य काम गर्न पनि ताम्सिएका छन्। एक अर्काको स्वास्थ्य र जनधनको क्षति हुने घृणित कार्य गर्न पनि उनीहरु लागिपरेका छन्। सृजनामा ह्रास आएको छ। साहित्य र पत्रकारिताको स्तर खस्किएको छ। चलचित्र क्षेत्रमा कलाकार र प्राविधिकभन्दा मानसिक रोगीहरु बढी छन्। व्यापारमा ठग, माफिया र कालोबजारीको बिगबिगी छ। कर्मचारीतन्त्र बढी खाएर पनि कुपोषणग्रस्त छ र उसलाई खान अझ पुगिरहेको छैन। स्वास्थ्य क्षेत्रमा चक्कु बोकेर लुट्न हिँड्ने सफेदपोश अपराधीहरुकै हालीमुहाली छ। राजनीतिमा लागेकाको त के कुरा गर्नु? उनीहरुका निन्दनीय कर्तूतहरु सर्वत्र छताछुल्ल छन्। अब त यहाँ न्यायालय नै चरम विवादको अखडा भएको छ। न्यायालयमा राजनीतिकरण हाबी छ र भ्रष्टाचार ब्याप्त छ।
अब के त?
यस्तोमा हिटलरको स्मरण हुन्छ। हिटलर सत्तामा आउनुअघि जर्मनीमा ३४ वटा मार्क्सवादी दलहरु सक्रिय थिए। उनीहरु आफ्नै राजनीतिक बाझाबाझ र मतभिन्नतामै उल्झिएका। अर्कातिर लामो यहुदी दवदवा कायम थियो। गरिव झन् गरिव हुँदै थिए र धनी झन् धनी भइरहेका थिए। मध्यम वर्ग धनी र गरिवका बिचमा पिल्सिएको थियो। मुलुक शासन गर्ने चक्करमा त्यहाँ अनेक दर्शनहरु निकालेर मानिसहरु उल्झिएपछि मानवता संकटमा पर्दै गयो।
भोकले हिटलर जन्मायो। हिटलर त्यस्तो लिडर हो जो कानूनी तवरले सत्तामा पुग्यो र महा गैह्रकानूनी काम गरेर शेष भयो। उसले यहुदी र कम्युनिस्टहरुको समूल नष्ट गर्ने प्रयास गर्यो। उसले जघन्य नरसंहार गर्यो। यसबाट अनुमान लगाउन सकिन्छ कि सत्तामा आउनुपूर्व हिटलर कति सताइएको थियो। सत्तामा आउनुपूर्व उसले ठीकसँग खान पाएन। आफ्नै मुलुकमा सम्मानसाथ बाँच्न नपाएकाले उभित्र विद्रोहको पारो भकभकी उम्लिएको थियो। सत्तामा आउनुपूर्वका उसका चीसा दिनहरुमा हिटलरले आफ्नो अवचेतनमा केवल हिंसा र बदलाको भावना उमालेको थियो। उसले आत्मसम्मोहन सिकेको थियो। अठोट लिएपछि त्यसलाई पूरा गर्न सक्ने रसायन हिटलरमा ब्याप्त थियो।
भन्न खोजेको के हो भने, यदि तपाईँ कसैलाई अत्यधिक दमन गर्नु हुन्छ भने, ऊ तपाईंभन्दा हजारौँ गुणा शक्तिशाली भएर निस्किने छ।
कसैको भोको पेटमा लात मार्नुअघि जो कोहीले कम्तिमा दश खेप सोच्नु जरुरी छ कि ढिलोचाँडो चालको तेस्रो नियम त्यहाँ अनिवार्य लागू हुनेछ। त्यो लात बज्र भएर फर्किन सक्छ र प्रहार गर्नेको टाउको उडाउन सक्छ।
अर्को कुरा, कुनै व्यक्तिको आत्मसम्मानमा ठेस पुग्नु पनि निकै खतरनाक हुन जान्छ। वा, कसैको मानव अधिकार हनन् भैदिनाले पनि भयानक प्रतिक्रिया हुन सक्छ। कुनैकुनै व्यक्तिलाई अवहेलना मन पर्दैन र ऊ खतरनाकभन्दा पनि खतरनाक आत्मसुझाव दिएर जस्तै भयंकर कार्य पनि फत्ते गरिदिन सक्छ।
राम, कृष्ण, परशुराम, चंगैज खाँ, नेपोलियन, हिटलर, पृथ्वीनारायण शाह, जंगबहादुर राणा, फुलनदेवी, प्रचण्डहरुले कहीँ न कहीँ चोट जरुर खाएका छन् र त्यसै चोटले उनीहरुलाई भयंकर काम गर्नतर्फ हुत्यायो। उनीहरुले लक्ष्यमा पुग्न हिंसाको सहारा लिएका छन्। उनीहरुको मनलाई अनुसन्धान गर्दा उनीहरु तदनुरुप सम्मोहित थिए वा छन्। किनभने, चित्त नै मन्त्र हो। मनमा कुनै पनि कुरालाई दोहोर्याउँदै जाने हो भने एक दिन त्यो प्रकट हुन्छ।
आत्मसुझाव सकारात्मक होस् वा नकारात्मक, तीब्र शक्तिले अभ्यास गरिन्छ भने, यसले नतिजा ल्याउँछ नै। आत्मसुझावले नै मानिस साधु बन्छ। वा अपराधी बन्छ। मानिस जे चाहन्छ, त्यो पूरा गर्न सक्षम छ। बस् त्यहाँ केही कडा अभ्यास र नियमहरुको आवश्यक्त पर्दछ।
त्यसैले, कसैले कसैलाई बिना कारण वा कुनै कारण सताउनु हुँदैन। चाहे त्यो शासक होस् वा जो कोही। यो ब्रह्माण्ड यति शक्तिशाली र रहश्यमय छ कि यहाँ कसको मस्तिष्कमा प्रकृतिले के घुसाउँछ त्यसको अनुमान कसैले गर्न सक्दैन। मानवको इतिहास हेर्दा यस्तै लाग्छ। आखिर इतिहास नै त भविष्य निर्धारण गर्ने मजबुत कडी हो। एउटाले सगरमाथा आरोहण गरेको देखेर, सुनेर वा थाहा पाएर आज कति हजारले विश्वको सर्वोच्च शिखरमा पाइला टेके? तेन्जिङ र हिलारीभन्दा अघि त्यहाँ को चढ्यो? हामीलाई थाहा छैन। तर, उनीहरुको सफल आरोहण पश्चात् ककसले कुन मितिमा सगरमाथा आरोहण गरे भनेर हामी आज चार सेकेण्डमा गुगल गरिदिन सक्छौँ। मतलब, कसैले कुनै अनौठो र चमत्कारिक काम गरेर देखायो भने, त्यो काम अर्को मानवले पनि गर्न सक्दोरहेछ। केवल केही कडा अभ्यास, तिक्ष्ण आत्मसुझाव र कठोर अनुशासनको त्यहाँ जरुरत पर्ने गर्दछ। यसपछि टप्किने नतिजाहरु अभूतपूर्व कहलिन्छन् वा कहलिएका छन्।
मानवको प्रमुख हतियार कल्पना शक्ति हो। सृजनामा कल्पना शक्ति सकारात्मक दिशातर्फ बग्दछ भने विध्वंशमा त्यही कल्पना शक्ति नकारात्मक दिशातर्फ बग्न वाध्य हुन्छ। वर्तमान अधिकांश दुनियाँको उर्जा नकारात्मक दिशातर्फ बगिरहेको आभाष हुन्छ – अप्राकृतिक, आपराधिक, अमानवीय, आततायीग्रस्त र असत्य। झ्वाट्ट हेर्दा वैधानिक देखिए पनि यहाँ कानुनी रुपमा कोही पनि सत्ता चुमिरहेको छैन। बँदेलको टाउको देखाएर यहाँ हर्राको मासु बेचिन्छ। कागजमा प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र लेखे पनि यहाँ त्यसको कुनै अभ्यास छैन। लेखपढ छैन। सृजना छैन। आविस्कारको कुनै इज्जत छैन। स्वस्थ प्रतिस्पर्धा छैन। गुट उपगुटग्रस्त छ समाज। अनि सिण्डिकेट र कार्टेलिङको मार जताततै।
कानुनी रुपमा सत्तामा पुगेको देखिए तापनि यहाँ मान्छेहरु अनेक गैह्रकानुनी काम गरेरै सत्तामा पुगिरहेका छन्। सत्तामा पुगिसकेपछि यस्ता मान्छेले गर्ने घृणित कामहरुको सूची पनि लामै भएको अवस्थामा कस्तो समाधानको खोजी गर्ने? भ्रष्टाचारको दलदलमा टेकेर सत्तामा पुगेकाहरु महाभ्रष्टाचारी भएर अरु भासिएका छन्। तिनीहरुले अरुलाई पनि डुबाएर गएका छन्।
गुण्डा, पाकेटमार, चोर, फटाहा, जाली, झेलीहरुलाई सत्तामा पुर्याएर कहाँ के लछारपाटो लाग्यो? आस्थाको राजनीतिका नाममा अराजकता र गुण्डागर्दीको राजनीति कहिलेसम्म? कहाँ गयो राजनीतमा विचार? के दलहरुको काम अपराधी भेला गर्ने वा तिनलाई संरक्षण दिने हो? के यही हो समाजवाद? अनि कुन हो साम्यवाद? कसरी र किन आज राजनीति केवल कमाऊ धन्दा हुन गयो?
ठूलाठूला वाद पढाएर, अनेक आन्दोलन र रक्तक्रान्ति गरेर वा गराएर नेताहरुले आज जुन नतिजा हामीलाई दिए वा दिइरहेका छन् त्यसले एक सन्निकट विष्फोटको संकेत हामीलाई दिइरहेको छ। अब राजनीतिक दलहरु ह्याक हुने संभावना बढेर गएको छ।
यहाँ हिटलर जस्तो कानुनीरुपमा सत्तामा पुगेर गैह्र कानुनी कार्य गर्ने लिडर होइन, गैह्र कानुनी रुपमा सत्तामा पुगेर कानुनी कार्य गर्ने लिडर अब दुनियाँमा उदाउनेछ। आज प्रविधि चरमोत्कर्षमा छ। जमाना हिटलरवा रहेन। अहिले त यहाँ सबका हातहातमा कम्प्युटर!
कम्प्युटर ह्याक गर्नु निश्चय नै गैह्र कानुनी काम हो। तर, अब कम्प्युटर खेलाउन सक्ने कुनै फुच्चे ह्याकरलाई कसले रोक्ने? कुनै राजनीतिक दलको वेबसाइट वा बैंक खाता उसले सहजै ह्याक गरिदिन सक्छ। लठेत र गुण्डाहरुको संख्या बढाइरहेको कुनै पनि राजनीतिक दललाई यो कुरा एक नसियत हुनेछ कि उनीहरुले ढिलोचाँडो नराम्रो हार व्यहोर्नु पर्नेछ। अब कुनै वाद वा दर्शन मात्रले केही हुनेवाला छैन। आयमूलक र प्रायोगिक कामहरुले मात्रै परिवर्तन र नतिजा ल्याउन सक्छन् जो अहिलेका राजनीतिक दलहरुले अवलम्वन गरिरहेका छैनन्। उनीहरु मनी, मसल र माफियाको चंगूलमा झनझन् फँसिरहेका छन्। जनताको भोटले सत्तामा पुगे पनि राजनीतिक दल र जनता बिच अन्तराल बढिरहेको छ। यसै कुराले उनीहरुको हार निश्चित छ।
'डिजिटल प्लेटफार्म’ नियालेर हेर्दा अब दुनियाँमा युवा मस्तिष्कहरु सल्बलाउन थालेको झलक मिल्छ। जिनियशका अगाडि मूर्खको के लाग्छ? यसै पनि यहाँ मूर्खहरुले जिनियशलाई दबाएका छन्। त्यसैले यहाँ जुनसुकै बेला जे पनि हुन सक्छ।
प्रवल संभावना – अब हेर्दाहेर्दै ‘वर्ल्ड वाइड वेब सिष्टम’ ह्याक हुनेछ र जगत ‘सट डाउन’ हुने छ। यसैलाई तेस्रो विश्व युद्ध भनिने छ। यो नै वर्तमान जिनियश पुस्ताका लागि जगतको अभूतपूर्व उपहार हो – ‘यु अलोन क्यान ह्याक अर क्याप्चर दि वर्ल्ड!'
त्यसपछि के?
प्रतिलोम अर्थात् रिभर्स!