PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भारतको केरलामा नोरो भाइरस संक्रमणको पुष्टि, सतर्कता अपनाउन आह्वान



भारतको केरलामा नोरो भाइरस संक्रमणको पुष्टि, सतर्कता अपनाउन आह्वान
Photo : GETTY IMAGES

भारतको केरलामा नोरो भाइरसको संक्रमण पुष्टि भएको छ। केरलाकी स्वास्थ्य मन्त्री बिना जर्जले शुक्रवार नोरो भाइरसको संक्रमण देखिएको पुष्टि गर्दै सर्वसाधरणलाई सतर्क रहन आग्रह गरेकी हुन्।

यो भाइरस जनावरबाट मानिसमा सर्ने भएको सावधानी अपनाउन भनिएको हो। दुई हप्ता पहिला वायनाडको एक पशु चिकित्सा कलेजको १३ विद्यार्थीमा नोरो भाइरस देखिएको थियो। उनीहरुमा बान्ता आउने र डायरियाको लक्षण देखिएको थियो। लक्षण देखिएपछि उनीहरुको नमूना लिएर परीक्षणका लागि पठाइएको थियो। जसमा १३ जनामा भाइरस देखिएको थियो।

अधिकारीहरुले भाइरसको संक्रमण नियन्त्रणमा आइसकेको दाबी गरेका छन्। भाइरस थप फैलिएको बारेमा कुनै सूचना नआएको अधिकारीहरुले बताएका छन्। यद्यपि, भाइरस फैलिन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आह्वान गरिएको छ।

यो भाइरस प्रदूषित खाना र पानीका साथै संक्रमित व्यक्तिबाट पनि सर्ने गर्छ। हाल वायनाडमा पानीको स्रोतहरुको 'सुपर क्लोरिनिकरण' गरिँदैछ।

मन्त्रालयबाट जारी निर्देशिकामा मानिसहरुलाई पानी उमालेर खान, शौचालयको प्रयोग अघि र पछि हात धुन, साबुन पानीले पटकपटक हात धुन र स्वस्थ खानेकुरामात्र खान भनिएको छ। यस्तै, सफा कपडाको प्रयोग गर्न र जनावरको साथमा रहने मानिसहरुले थप सतर्कता अपनाउनुपर्ने समेत भनिएको छ।

बान्ता आउनु र डायरियाका साथै ज्वरो आउनु, शरीरमा दुखाई बढ्नुपनि यो भाइरसको लक्षण भएको बताइन्छ। संक्रमित भएको एक वा दुई दिनमा लक्षण देखाउन सुरु हुन्छ। इंग्ल्याण्डमा पनि गत जुलाईमा नोरो भाइरसको १५४ केस पाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell