पोखरा : मुस्ताङको थासाङ गाउँपालिकामा आइतवार बिहान गएको हिमपहिरो देखेर भाग्दा घाइते हुनेको संख्या ११ पुगेको छ। प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार आइतवार बिहान मानापाथी हिमालमा गएको हिमपहिरो थासाङ गाउँपालिकामा कोवाङ क्षेत्र माथिसम्म आइपुगेको थियो।
हिमपहिरो आएको थाहा पाएर कोवाङस्थित जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थी गरेर ११ जना सामान्य घाइते भएका हुन्। घाइते हुनेमा तीन शिक्षक र ८ जना विद्यार्थी छन्। भाग्दा चोटपटक लागेका उनीहरुलाई जिल्ला अस्पताल मुस्ताङमा उपचार गरिएको छ।
हिमपहिरो गएको स्थानमा चौरी खर्क छ। अहिलेसम्म मानवीय र वस्तु क्षतिको सूचना भने आइसकेको छैन।