PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गण्डकीमा १२ जना नेताले छाडे विवेकशील, मिश्रलाई तानाशाहको आरोप



गण्डकीमा १२ जना नेताले छाडे विवेकशील, मिश्रलाई तानाशाहको आरोप

पोखरा : गण्डकी प्रदेशमा विवेकशील साझा पार्टीका १२ जनाले पार्टी परित्याग गरेका छन्। आइतवार स‌ंयुक्त रुपमा प्रेस विज्ञप्तिमा जारी गर्दै १२ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन्।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टी चलाएको आरोप लगाउँदै उनीहरुले पार्टी परित्याग गरेका छन्। मिश्र तानाशाह बनेको उनीहरुको आरोप छ।

यसअघि साउन १७ गते पार्टीका सचिवालय सदस्य महेश भण्डारीले प्रदेश संयोजक पदबाट राजीनामा दिएका थिए। आज पार्टी परित्याग गर्नेमा  पार्टीका केन्द्रीय अभियान विभाग सदस्य दीपक पौडेल, पार्टी तथा युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, मनिषा मगर, महेन्द्र आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, गण्डकीका प्रदेश सदस्य एवं कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, पदम न्यौपाने र तनहुँ जिल्ला संयोजक एवं गण्डकी प्रदेश सदस्य सागर घिमिरे छन्।

यस्तै, स्याङ्जा जिल्ला संयोजक भीमनारायण कोइराला, बाग्लुङ जिल्ला संयोजक सुरज श्रेष्ठ र म्याग्दी जिल्ला संयोजक विश्वराज अछामे र व्यास नगर संयोजक तथा प्रदेश सदस्य सलमान अलिले पनि राजीनामा बुझाएका छन्।

उनीहरुले अध्यक्ष मिश्रले एकताको मर्म विपरीत एकल रुपमा अघि बढेको आरोप लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘दुई फरक पार्टीलाई एक ठाऊँमा ल्याएर तोकिएको समयमा एकता महाधिवेशन गर्नतर्फ लाग्नुको साटो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकताको मर्म विपरित एकल दस्तावेज सार्वजनिक गरी पार्टीको विधान विपरित कार्य अगाडि बढाएकोप्रति हाम्रो गम्भिर आपत्ति छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell