PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

अख्तियारले भन्यो : प्रदेश २ को मुख्यमन्त्री कार्यालयबाट साइकल खरिद गर्दा अनियमितता भएको देखियो



अख्तियारले भन्यो : प्रदेश २ को मुख्यमन्त्री कार्यालयबाट साइकल खरिद गर्दा अनियमितता भएको देखियो

जनकपुरधाम : प्रदेश नम्बर २ मुख्यमन्त्रीको कार्यालयले खरिद गरेको साइकलमा अनियमितता देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले स्पष्ट गरेको छ। अख्तियारको बर्दिवास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदेश २ को मुख्यमन्त्री कार्यालयले छात्राहरुका लागि खरिद गरेको साइकलमा अनियमितता भएको जानकारी दिएका हुन्।

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्राहरुलाई वितरण गर्नका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते कार्यालयमा छापा मारेको थियो। त्यसपछि अख्तियारको टोलीले साइकल खरिदको फाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

अख्तियारको बर्दिवास कार्यालय प्रमुख सापकोटाले साइकल खरिदमा प्रारम्भिक अनुसन्धनको क्रममा अनियमितता भएको देखिएको बताए।

सापकोटाले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएकोले त्यस चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान थालेका छौँ। त्यसका लागि छुट्टै अनुसन्धान अधिकृत नियुक्त गरेर विस्तृतमा अनुसन्धान अगाडि बढ्नेछ।’

सापकोटाले विस्तृत अनुसन्धानमा समेत अनियमितता भएको देखिएमा कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell