PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मौका पाउँदा पनि काम गर्न नसक्नेलाई अब नेतृत्व सुम्पिन हुँदैन : प्रकाशमान सिंह



मौका पाउँदा पनि काम गर्न नसक्नेलाई अब नेतृत्व सुम्पिन हुँदैन : प्रकाशमान सिंह
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्न नसक्नेलाई अब नेतृत्व सुम्पिन नहुने बताएका छन्। नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा नेता सिंहले जनताको माग नेतृत्व परिवर्तन भएको भन्दै नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने बताए।

नेतृत्वको कारण कम्युनिस्टहरुले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि कांग्रेसले जनमत पाउन नसकेको उनले बताए। निर्वाचनपछि कांग्रेस कमजोर हुँदा कम्युनिस्टहरुले मौका पाएको र संविधानमाथि प्रहार गरेको भन्दै उनले प्राप्त उपलब्धि संस्थागत गर्नको लागि कांग्रेस मजबुत हुनुपर्ने बताए।

‘शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा कुनै गुनासो छैन। तर, जनताको माग नेतृत्व परिवर्तन हो। नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ। उनले भने, ‘मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिन हुँदैन।’

साथै, उनले १४ औँ महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनु पर्ने बताए। मंगलवार पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई महाधिवेशनपछि तल्लो तहदेखि नेतृत्व तहसम्म मजबुत बनाउनु पर्ने बताएका हुन्। नेता सिंहले जिल्ला सभापति हुँदा आफूले काठमाडौंलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गरे। मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफूमा रहेको उनको भनाइ छ।

‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ। पार्टी चलाउन क्षमाता चाहिन्छ’, उनले भने, ‘साधारण पार्टी कार्यकर्ताबाट अहिलेको अवस्थासम्म आएको हुँ, पार्टी चलाउन प्रशस्त अनुभव छ।’

साथै, उनले लोकतान्त्रिक पार्टीभित्र पनि कार्यकर्ताले अन्याय भएको गुनासो गरेको बताउँदै पार्टीभित्र सबैको सम्मान हुनुपर्ने बताए। उनले पार्टीलाई विधिसम्वत र नियमसम्वत तरिकाले अगाडि बढाउनु पर्ने भन्दै विधि र प्रक्रियाको लागि आफूले सधैँ पार्टीभित्र आवाज उठाउँदै आएको बताए।

जनताका मुद्दाहरु तत्काल समाधान गरी लोकतन्त्र जोगाउनको लागि प्रभावकारी पार्टीको रुपमा कांग्रेस स्थापना गर्न आफूले सभापतिमा उम्मेद्वारी दिने उनको भनाइ छ। पार्टीलाई संस्थागत गरी विधिसम्वत तरिकाले चलाउनु पर्ने उनले बताए।

आउँदो दिनहरुमा आम नेपाली जनताको जीविकोपार्जन सहज गराउने आफ्नो एक मात्र उद्देश्य रहेको उनको भनाइ छ। उनले देश विकासको योजनासहित जनतामा जानु पर्ने बताए। कृषि प्रधान देशमा सबै कुरा आयात गर्नु पर्ने अवस्था रहनु दु:खद कुरा भएको धारणा राखे। यस्ता समस्याहरु कांग्रेसले समाधन गर्नु पर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell