PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

रक्षामन्त्री रिजाल सानेपा पुग्दा अनशनकारीसँग सवालजवाफ, 'ठूलो रुखको छेउमा बस्दा के के कुरा थिचिन्छ भन्ने कुरा मैले ब्यहोरेको छु'



रक्षामन्त्री रिजाल सानेपा पुग्दा अनशनकारीसँग सवालजवाफ,  'ठूलो रुखको छेउमा बस्दा के के कुरा थिचिन्छ भन्ने कुरा मैले ब्यहोरेको छु'

काठमाडौं : बुधवार डडेल्धुराका कांग्रेस सभापति कर्ण मल्लले कांग्रेसको पार्टी कार्यालय सानेपामा अनशन शुरु गर्दै थिए। डडेल्धुरामा पार्टी सभापति शेरबहादुर देउवा पक्षले एक पक्षीय अधिवेशन गरेको भन्दै मल्लसहितका कार्यकर्ता बीपी भवनको गेटैमा पलेटी कसेर बसेका थिए।

त्यही बेला पार्टी कार्यालय आइपुगे रक्षामन्त्री मिनेन्द्र रिजाल। क्रियाशील सदस्यता विवाद समितिमा रहेर काम गरिसकेका रिजालले डडेल्धुराको विवादबारे नबोलेको भन्दै डडेलधुराका कांग्रेस सभापतिले गुनासो गर्दै थिए।

'तपाईलाई सुक्ष्म ढंगले अधिवेशनबारे थाह छ। ७६ जिल्लामा प्रक्रियामा अधिवेशन भइरहेको छ। प्रक्रियाभन्दा भिन्न ढंगमा कांग्रेसको इतिहारमाडडेल्धुराको अधिवेशन भइरहेको छ,' रक्षामन्त्री रिजाललाई मल्लले थप भने, 'यसका बारेमा हजुरहरु जतिको नेताले कही बोल्न पनि नमिल्ने? त्यति आश गर्ने अनुरोध गर्ने अधिकार त हामीलाई पनि छ नि!'

मल्लले यति भनेपछि रिजालले हात जोड्दै भने, 'सभापतिज्यु सुन्नुस् न तिमीलाई त्यो अधिकार छ। मैले पनि यहाँ बोल्ने कि कहाँ बोल्ने ठाउँ छुट्याएको होला नि। बोल्ने फोरम मैले पनि मनमा राख्या होलान्त।'

रिजालको भनाई सकेपछि मल्ल नजिकै बसेका कार्यकर्ताले विराटनगर र डडेल्धुराको प्रसंग जोडे। उनको प्रश्नले केही झोक्किए रिजाल, 'मलाई डडेल्धुरा मतलब छैन भन्या हैन।

ठुलो रुखको छेउमा बस्दा के के कुरा थिचिन्छ भन्ने कुरा मैले व्यहोरेको छु।'

पार्टीमा संस्थापनइतर पक्ष मानिएका रिजालले देउवाको जिल्लामा भएको दवदबाबारे केही बोलिदेला भनेर त्यहाँका कार्यकर्ताले आश गरेका थिए। तर रिजालले केही मुख खोलेनन्। बरु उनले कति कुरा नभनेर पनि समाधान हुने भन्दै अनशनकारीसँग बिदा मागे। 'कति कुरा भनेर होला कति कुरा नभनेर पनि होलान्त,' यति भनेपछि रक्षामन्त्री रिजाल कार्यालयभित्र प्रवेश गरे।

यता डडेल्धुरा कांग्रेसले भने आफ्नो जिल्लाको अधिवेशन अवैधानिक भन्दै अनशन शुरु थाले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell