वीरगंज : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको लागि प्रदेश २ का आठ जिल्लामा वडा अधिवेशन जारी रहेको छ। कांग्रेस प्रदेश २ का संयोजक रमेश रिजालका अनुसार प्रदेश २ का आठ जिल्लामा कार्यतालिका सार्वजनिक गरी तीव्र अवस्थामा अधिवेशन जारी रहेको छ।
दुई दिनमै वडा अधिवेशन सकेर, पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश निर्वाचन अधिवेशन सक्ने लक्ष्य रहेको उनले बताए। उनले आगामी मंसिर ११ गतेभित्र प्रदेशस्तरसम्मको अधिवेशन सक्ने लक्ष्य रहेको बताए।
उनले देशभरीमा करिब पौने १० लाख क्रियाशील सदस्यको नामावली सार्वजनिक भएकोमा केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि करिब ४ हजार महाधिवेशन प्रतिनिधि छनौट गर्ने हिसाबले पार्टीको निर्देशन आएको बताए। प्रदेश २ का आठ जिल्लामा जारी वडा अधिवेशनमा अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चुन्ने काम भइरहेको र अन्यमा मतदानबाट अधिवेशनको प्रकृया अघि बढिरहेको उनले बताए।