
काठमाडौं : शुक्रवार काठमाडौंको मण्डिखाटारमा पतंजली योगपीठले आयोजना गरेको कार्यक्रम चल्दै थियो। कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए।
पतंजलीको दुई वटा स्याटेलाइट टिभी उद्घाटन कार्यक्रममा कांग्रेस नेताहरुको लस्कर थियो। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, सुजाता कोइराला उपस्थित थिए। त्यसैगरी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि कार्यक्रममा सहभागी थिए।
उद्घाटन हुनुअघि नै अन्तै जाने चटारो परेपछि नेपालले मन्तव्य राख्ने पालो पाए।
नेपालले सुरुमा रामदेवलाई सम्बोधन गरे। त्यसपछि बालकृष्ण आचार्यलाई। त्यसपछि नेपालले प्रधानमन्त्री देउवा र प्रचण्डको नाम लिए।
त्यसलगत्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम सम्बोधन गर्ने क्रममा भने नेपाल अक्मकिए। उनले भने, 'नेपाली कांग्रेसका सभापति… सभापति पो भनेछु।'
यति भनेपछि उनको नजर कांग्रेस उपसभापति निधिसँग ठोक्कियो। निधिले अक्मकिएर नेपाललाई नमन गरे। तर त्यहीबेला नेपालले सम्बोधनलाई निरन्तरता दिए, 'भविष्यको हो कि हाम्रो रामचन्द्रजी।'
केही पर प्रधानमन्त्री देउवा थिए। देउवा पनि कांग्रेस सभापतिका दाबेदार हुन्। त्यसैले नेपालले देउवातिर हेरेर भने, 'प्रधानमन्त्रीलाई चिसो पस्ला, तर केही छैन।' प्रधानमन्त्री देउवा भने खुसुखुसु हाँस्दै हात हल्लाउँदै थिए। त्यसपछि कार्यक्रममा हाँसो फैलिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले योग र रामदेवको प्रशंसा गरेका थिए। नेपालले योगकै कारण आफू पलेटी कसेर बस्न सकेको जनाए।