PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

अमेरिकी सहायक विदेशमन्त्री लुले भेटे मन्त्रीदेखि शीर्ष नेतासम्म, नेपालको पहिलो अमेरिकी चेम्बर अफ कमर्स गठन



अमेरिकी सहायक विदेशमन्त्री लुले भेटे मन्त्रीदेखि शीर्ष नेतासम्म, नेपालको पहिलो अमेरिकी चेम्बर अफ कमर्स गठन

काठमाडौं : नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेतृत्वको प्रतिनिधिमण्डलले आज परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता भएको हो।

भेटका क्रममा नेपाल-अमेरिका मित्रता र सहयोगका बृहत क्षेत्रमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। सो क्रममा परराष्ट्रमन्त्री डा खड्काले कोभिड-१९ को महामारीका बेला खोपलगायतका चिकित्सा सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिए। वार्तामा नेपालको विकास प्राथमिकताका विभिन्न क्षेत्रका साथै महामारीपछिको आर्थिक पुनरुत्थानमा व्यापार र लगानीको भूमिका पनि समेटिएको थियो।

दुवै पक्षले नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुन सक्ने एमसीसी परियोजनालगायत नेपाललाई अमेरिकाको लामो समयदेखिको सहयोगका बारेमा विचार आदानप्रदान गरिएको थियो। विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक सचिव लुले परराष्ट्रमन्त्री खड्कालाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बधाई सन्देश दिँदै पारस्परिक हितका विषयमा परराष्ट्र मन्त्रालयसँग मिलेर काम गर्न तत्पर रहेको बताए। उनले परराष्ट्रमन्त्री खड्कालाई नेपाललाई अमेरिकी सहयोग निरन्तर रहने आश्वासन पनि दिए।

दुवै पक्षले नेपालजस्ता जलवायु जोखिममा रहेका हिमाली देशहरूमा जलवायु परिवर्तनले पारेको प्रतिकूल असरलाई स्वीकार गर्दै प्रभावकारी जलवायु कार्य र अनुकूलन र न्यूनीकरणका उपायहरूका लागि वित्तीय पोषणको आवश्यकताबारे छलफल गरेको मन्त्रालयले जानकारी दिएको छ।

दुवै पक्षले बदलिएको अन्तर्राष्ट्रिय परिवेशमा नेपाल-अमेरिका सम्बन्धको गतिशीलताका साथै उच्चस्तरीय भ्रमणको आदानप्रदान, आर्थिक साझेदारी र जनताबीचको सम्पर्क लगायत द्विपक्षीय संलग्नतालाई अगाडि बढाउने उपायबारे छलफल गरेका थिए।

त्यस्तै, सहायक विदेशमन्त्री लु नेतृत्वको प्रतिनिधिमण्डलले आजै गृहमन्त्री बालकृष्ण खाणलाई पनि भेटेको छ। टोलीले आज नै सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको छ।

सहायक विदेशमन्त्री लुले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए। लु तीन दिने भ्रमणका क्रममा बुधवार साँझ काठमाडौं आइपुगेका हुन्।

यसैबीच, सहायक विदेशमन्त्री लु र दक्षिण तथा मध्य एसिया मामिलाका उप-सहायक सचिव केली केइडरलिङले नेपालको पहिलो अमेरिकी चेम्बर अफ कमर्सको सुरुवातको घोषणाको लागि नेपालमा रहेका अमेरिकी कम्पनीको प्रतिनिधित्व गर्ने व्यवसायी नेतृत्वहरूसँग भेट गरेका छन्।

नेपालको पहिलो अमेरिकी चेम्बर अफ कमर्समा प्रारम्भिक १३ संस्थापक सदस्यहरू रहेका छन्। जसमा अजित शाह (लोटस होल्डिंग्स), निर्मल श्रेष्ठ (मेटलाइफ), अतुल्य रिसाल (कम्प्लायन्स क्वेस्ट), कैलाश बियानन्द (लीपफ्रग टेक्नोलोजी), आकाश गोल्छा (फोर्ड वितरक), राज शाह (बडवाइजर वितरक), जयदिन श्रेष्ठ (ह्यात), मंगेश लाल श्रेष्ठ (फ्रोस्ट एण्ड सुलिवान), ओस्कर बतास (क्याटरपिलर वितरक), असीम बस्न्यात (पठाओ राइड सेयरिङ), सञ्जय गोल्छा (डेल वितरक), साकार पुडासैनी (कारखाना) र सेमन्त दाहाल (कानुनी सल्लाहकार) रहेका छन्।

सहायक विदेशमन्त्री लुले गरिबी न्यूनीकरण र भ्रष्टाचारविरुद्ध लड्न निजी कम्पनीको हात रहेको बताउँदै नेपालको अमेरिकी चेम्बर अफ कमर्सले नेपालका प्रमुख मिसनहरूमा दुवैलाई समावेश गर्ने आशा राखेको उल्लेख गरे। उप-सहायक सचिव केइडरलिङले चेम्बर अफ कमर्सलाई अर्थतन्त्रमा अल्पसंख्यक र महिलाहरूलाई समावेश गर्न आफ्नो प्लेटफर्म प्रयोग गर्न प्रोत्साहन गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell