पोखरा : राष्ट्रिय सम्मेलनमा जुटेको नेकपा (माओवादी केन्द्र)ले भोलि देशभरीका वडाहरुमा नेतृत्व चयन गर्दैछ। वडा अधिवेशन अन्तर्गत कास्कीमा सम्पूर्ण तयारी पूरा भएको पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिए।
राष्ट्रिय सम्मेलनलाई लक्षित गरी माओवादी केन्द्रले सदस्यताका लागि अनलाइनमार्फत आवेदन भर्न सकिने व्यवस्था मिलाएको थियो। पार्टी सदस्यता नविकरणको काम सकेर माओवादी केन्द्र वडा अधिवेशनको अन्तिम तयारीमा लागेको हो।
माओवादी केन्द्रले भोलि शनिवार कास्कीका ७२ वटै वडामा एकैसाथ अधिवेशन गर्दैछ। वडामा सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी रहेको गुरुङले जानकारी दिए।
सर्वसम्मत नहुने स्थानमा प्रक्रियागत रुपमा अघि बढ्ने गुरुङले बताए। गुरुङका अनुसार पार्टी केन्द्रले तोके अनुसारको समयमा पालिकामा समेत नेतृत्व चयन गर्ने तयारी रहेको छ।
कास्कीमा माओवादी केन्द्रका १० हजार ३ सय ८३ जना सदस्य पुगेका छन्। गण्डकी प्रदेशमा ६४ हजार बढी सदस्य संख्या पुगेको छ। गुरुङका अनुसार यसअघि कास्कीमा माओवादी केन्द्रका ८ हजार २ सय सदस्य थिए। पछिल्लो समय ओलीले देखाएको कदम, पार्टीको कार्यक्षमता र विचारले माओवादी केन्द्रमा आकर्षण बढेको गुरुङले सुनाए।