PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कार्बन न्युट्रल ओलम्पिकको तयारीमा चीन, सगरमाथाबाट पनि हेर्न सकिने गरी 'फाइब जी इन्टरनेट'!



कार्बन न्युट्रल ओलम्पिकको तयारीमा चीन, सगरमाथाबाट पनि हेर्न सकिने गरी 'फाइब जी इन्टरनेट'!

'ग्रीन ओलम्पिक' को अवधारणालाई मध्यनजर गर्दै चीनले शीतकालीन ओलम्पिक २०२३ को तयारी अघि बढाएको छ। यसका लागि उच्च प्रविधिको प्रयोग गर्दै कार्बन न्युट्रल ओलम्पिक गराउने तयारीमा चीन रहेको त्यहाँको सरकारी सञ्चार संस्था ग्लोबल टाइम्सले जनाएको छ। भिडमा कोभिड संक्रमण फैलिन नदिन उच्च प्रविधि प्रयोग गर्दै खेलाडीको मेडिकल केयरदेखि दर्शकहरुको मनोरञ्जनका लागि समेत व्यवस्था गरिएको छ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण संसारको सर्वोच्च शिखर सगरमाथाबाट पनि हेर्न सकिनेगरी त्यहाँ फाइभ जी टावर राखिएको जनाइएको छ। उत्तरी मोहडाबाट सगरमाथा चढ्ने आरोहीहरुलाई प्रत्यक्ष खेलहरु हेर्न यस्तो व्यवस्था गरिएको हो।

समुद्र सतहबाट ५ हजार मिटर भन्दामाथिको उचाइमा फाइभ जी टावर स्थापना गरिने बताइएको छ। उक्त टावरले अब्जर्भेसन डेक र क्याम्प १ सम्म नेटवर्क टिप्नेछ। ओलम्पिकको हरेक खेलस्थल, सडक र रेलवेलाई फाइभजीले जोड्ने चीनको लक्ष्य छ।

त्यस्तै दर्शकहरुले संसारको सबैभन्दा स्पष्ट ब्रोडकास्ट प्रविधि, हाइ डेफिनेसनमा ८के ब्रोडकास्ट हेर्न सक्नेछन्। त्यस्तै दर्शकहरुले भर्चुअल रियालिटीको पनि अनुभव लिन सक्ने आयोजकले जनाएको छ।

त्यस्तै मौसम पूर्वानुमान पनि अहिलेसम्मकै ओलम्पिकको भन्दा 'एकुरेट' हुने आयोजक कमिटीको टेक्निकल कमिटीका प्रमुख यु होङले दाबी गरेका छन्।

त्यस्तै कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एरोसोल इन्भारामेन्ट मोनिटरिङ सिस्टमको विकास गरिएको छ। उक्त प्रविधिले विभिन्न क्षेत्र र खास गरी खेलस्थलको हावाको अध्ययन गर्ने र कोभिड १९ को सम्भावना देखिए चेतावनी दिने प्रेस एण्ड पब्लिसिटी डिपार्टमेन्टका प्रमुख झाओ वेडोङले जनाएका छन्।

'यो प्रविधिले यसअघिका प्रविधिले भन्दा तीन गुणा बढी 'एकुरेसी' दिनेछ,' उनले भने।

त्यस्तै डिस्इन्फेक्सनको सन्दर्भमा पनि त्यस्तै नयाँ प्रविधिको प्रयोग गरिने उनले दाबी गरे। मार्गनिर्देशन, खानेकुरा व्‍यवस्थापन, डिसइन्फेक्सन, सरसफाइलगायतका क्षेत्रमा रोबर्टहरुको प्रयोग गरिने उनले बताए।

हरेक व्यक्तिको हरेक क्रियाकलापहरु क्यामराको निगरानीमा हुनेछन्। कुनै व्यक्तिलाई ज्वरो आयो या कोभिड १९ को लक्षण देखियो भने क्यामराले त्यो व्यक्तिको सबै क्लोज कन्ट्याक्ट पत्ता लगाउन सक्नेछ।

त्यस्तै कार्बन न्युट्रालिटीको लक्ष्यलाई पुरा गर्न आफूहरु प्रतिबद्ध रहेको झाओले बताए। यसलाई पुरा गर्न पावर ट्रान्मिसन प्रोजेक्ट खुला गरिसकेको छ भने वायु र सौर्य उर्जाको प्रयोग ल्याउने काम सुरु भइसकेको छ। त्यस्तै प्लास्टिकको स्थानमा जैविक कुराबाट बनिएको सामान प्रयोग गरिने जनाइएको छ।

कृत्रिम हिउँको उत्पादन

बेइजिङ ओलम्पिकको मुख्य खेलस्थलमध्येको एक यानछिनमा कृत्रिम हिउँको उत्पादन सुरु भइसकेको छ। यो काम जनवरीको अन्त्यसम्म सकिने आयोजकले लक्ष्य राखेको छ।

खेलहरुका लागि हिउँको मोटाइ, घनत्वका बारेमा समेत नियमहरु हुने भएकाले ती सबै प्राकृतिक हिउँको प्रयोगबाट नहुने आयोजकले जनाएको छ। यानछिन क्षेत्र कृत्रिम हिउँ उत्पादनका लागि उपयुक्त भएको त्यहाँको मौसम विभागले जनाएको छ।

'१७० हिउँ उत्पादन गर्ने उपकरणहरु प्रयोगमा ल्याइएको छ। यो परियोजनाले ८ लाख स्क्वायर मिटर क्षेत्र ओगट्छ र १.२ मिलियन क्युबिक मिटर हिउँको आवश्यकता पर्छ,' वु ले भनेका छन्, 'इन्टरनेसनल स्नो फेडेरेसनले मापदण्डहरुमा कडाइ गरेका कारण हिउँ बनाउने काम सबैभन्दा 'क्रिटिकल' छ।'

प्राकृतिक हिमपातको सम्भावना पनि त्यतिकै भएपनि आयोजकले मापदण्ड पुरा गर्न कृत्रिम हिउँको प्रयोगलाई निरन्तरता दिने पक्षमा छ। पश्चिमा सञ्चारमाध्यमहरुले त्यतिधेरै मात्रामा कृत्रिम हिउँ उत्पादन गर्दा वातावरणमा असर पर्नसक्ने दाबी गरिरहँदा आयोजकले भने वातावरणमा यसको असर नपर्ने दाबी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell