PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशन : रूपन्देहीमा पौडेल पक्ष हावी



कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशन : रूपन्देहीमा पौडेल पक्ष हावी

बुटवल : रूपन्देहीमा नेपाली कांग्रेस प्रदेशसभाको क्षेत्रीय अधिवेशनमा अधिकांश संस्थापन इतर उम्मेद्वारहरू विजयी भएका छन्। गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्लासमेत रहेको रूपन्देहीमा उनी निकट अधिकांश उम्मेद्वार पराजित भएका छन्।

शुक्रवार भएको प्रदेश सभाको क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा निकट उम्मेद्वारहरूले हार बेहोरेका हुन्। गृहमन्त्री खाण देउवाका विश्वासपात्र हुन्।

रूपन्देहीमा १० वटा प्रदेश सभा निर्वाचनमा संस्थापन इतर (रामचन्द्र पौडेल) समूहका ७ र खाण निकट ३ जना सभापति विजयी भएका छन्। पौडेल समूहले प्यानलसहित जित हाँसिल गरेको छ। यसले गृहमन्त्री खाण आफ्नो गृहजिल्लामा कमजोर रहेको पुष्टि गरेको छ। रूपन्देहीमा प्रतिनिधि सभामा ५ वटा निर्वाचन क्षेत्र छन्।

देउवा समूहबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क)बाट नवीनराज आचार्यको समूह र (ख) बाट मदनप्रसाद पोखरेलको प्यानल विजयी भएको छ। उनीहरू दुवै जना खाण निकट हुन्।

खाणको गृहनगर प्रदेश सभा निर्वाचन क्षेत्र ३ (क) मा मतगणना स्थलमा आक्रमण भएपछि मतगणना स्थगित भएको छ। त्यहाँ पनि पौडेल समूहका उम्मेद्वार जित नजिक छन्। ३ (ख) बाट भने देउवा समूहका घनश्याम चालिसेको समूह विजयी भएको छ।

क्षेत्र नम्बर २ को (क) निर्वाचन क्षेत्रबाट खडक बहादुर महत नेतृत्वको पौडेल समूह विजयी भएको छ। उनी पौडेल समूहका हुन्। त्यस्तै, (ख) बाट पौडेल समूहकै परशुराम ढकाल नेतृत्वको प्यानल निर्वाचित भएको छ। २ को (क) बाट खाणका स्वकीय सचिव विजेश न्यौपाने पनि पराजित भए।

यता, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४ (क) मा शिवकुमार यादव र ४ (ख) मा श्रीराम यादव नेतृत्वको प्यानलै निर्वाचित भएको छ। उनीहरु पनि पौडेल निकट नेताहरू हुन्।

निर्वाचन क्षेत्र नम्बर ५ मा (क) र (ख) दुवै निर्वाचन क्षेत्रमा भरतकुमार शाह पक्षका उम्मेद्वारहरू विजयी भएका छन्। उक्त निर्वाचन क्षेत्रको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) बाट रामबहादुर थापाको समूह विजयी भएको छ। (ख) बाट यसअघि नै शाहनिकट समूह निर्विरोध निर्वाचित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell