PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

‘ए’ डिभिजन लिगमा मनाङको विजयी सुरुवात, जावलाखेल युथ पराजित

‘ए’ डिभिजन लिगमा मनाङको विजयी सुरुवात, जावलाखेल युथ पराजित


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङले जावलाखेलमाथि १-० गोल अन्तरको साँघुरो जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलको ३१ औँ मिनेटमा कर्नरबाट प्रहार गरिएको बलमा मनाङका एडिलेजा सोमिडेको हेडपछि रिबाउण्ड भएर आएको  बलमा ओलावाले अफिजले गोल गरे। यद्यपि, रेफ्रीले त्यो गोल अफसाइट करार दिए।

खेलको ४५ औँ मिनेटमा जावलाखेलका सुरज ज्यु ठकुरीको कर्नरमा अनगुना जुनियरको कडा प्रहार गोलपोस्टमा ठोक्किएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकियो।

दोस्रो हाफको सुरुबाटै मनाङले आक्रमण बनाएको थियो। मनाङले ४६ औँ र ४९ औँ मिनेटमा राम्रो अवसर बनाए पनि सदुपयोग गर्न सकेन।

कप्तान अन्जनको हेडर ५५ औँ मिनेटमा गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो। मनाङको जितका लागि दिनेश राजबंशीले निर्णायक गोल गरे। दयानन्द सिंहको कर्नरमा राजबंशीले हेडरबाट ५७ औँ मिनेटमा गोल गरे।

सुनिल खड्काले ६१ औँ मिनेटमा हेडर प्रहार गर्दा मनाङका गोलकिपर प्रवेश कुवरले बचाएका थिए। ७२ औँ मिनेटमा राम्रो तालमेल मिलाएर पनि अनगुना जुनियर मौका सदुपयोग गर्न चुकेका थिए।

७८ औँ मिनेटमा जावलाखेलका रुपबहादुर लामाले प्रहार गरेको फ्री किकमा पेमा लोन्डुप शेर्पा गोल गर्न चुके। ८९ औँ मिनेटमा अन्जनको पासमा निकालेको बललाई गोलमा परिणत गर्न ओलावाले अफिज चुके।

आजै भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफमाथि ३-२ गोलअन्तरले जित निकालेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell