PahiloPost

Oct 30, 2024 | १४ कात्तिक २०८१

पचासेहरुको समूह : घःचा पुचः ४३



पचासेहरुको समूह : घःचा पुचः ४३

  • शिशिर वैद्य -

टीकाभैरव, रिसाल डाँडा, बोसन डाँडा, गागलफेदी, कागेश्वरी, कालुपाँडे स्मृतिपार्क, ह्वाइट गुम्बा, ईचंगु, चांगुनारायण, साँखु, गोदावरी, शिवपुरी, चम्पादेवी...। काठमाडौं उपत्यका वरिपरिका यी ठाउँहरु घुमघाम गर्नका लागि रमणीय गन्तव्य हुन्। काठमाडौं शहरसँगै जोडिएका यी स्थानमा म भने भर्खरैमात्र पुगेँ। त्यहाँ पुग्ने अवसर जुरायो साइकल चढ्ने रहरले।

चार दशकपछि पलाएको साइकल चढ्ने रहरले काठमाडौं उपत्यकाका कुनाकन्दरामा लुकेका सुन्दर र मनोरम स्थानहरुको दर्शन दिलायो। वास्तवमा साइकल किनेको थिएँ छोराछोरीका लागि। त्यही साइकल चढेर भित्री शहर घुम्ने रहर जाग्यो। त्यसमा जोडिए अरुण र सन्तोष। दुई तीन चार गर्दै साथीहरुको संख्या बढ्दै दर्जन पुग्यो। रहरै रहरमा पचास वसन्त देखेका बाल सखाहरु जोडिएर बन्यो साइकल समूह। नाम जुर्‍यो घःचा पुचः ४३। घःचा अर्थात् पांग्रा। पुचः माने समूह। ४३ सालमा एसएलसी दिएका साथीहरुको समूह भएकाले ४३ झुण्डियो घःचाःमा। बाल्यकालमा पाँग्रो डोहोर्‍याउँदै, खेलाउँदै हुर्केका साथीहरुको समूहको नाम उपयुक्त लाग्यो घःचाः पुचः४३। नेवाः साथीहरुलाई राम्रो लाग्नु स्वाभाविक हो। तर, गैर नेवाः साथीहरुले अर्थ बुझेपछि झन् मन पराए।

साइकल रहरले गुड्दैन। पहिलो दिनको यात्रामा नै थाहा पाइयो दिव्य ज्ञान। कामको दौडधुपमा मोटरसाइकल र गाडीको लत परिसकेका पचास लागेका तथा पार गरेका पचासे समूह। त्यसैले सजिलो र सहज यात्रा अनुभव दिलाउने जिम्मा दिइयो मित्र अरुण श्रेष्ठलाई।

अरुण साइकलको पुरानो खेलाडी। साइकल चढेरै उसले उपत्यकाका सबै डाँडाकाँडा काटिसकेको। अरु साथीहरुलाई साइकल चलाउन प्रेरणा दिने अरुण आफैँले भने शरीरमा समस्या देखिएपछि साइकलको सोखलाई बाँधेर राखेका। त्यो फेरि फुकेको छ, घःचा पुचः४३ सँगै। कट्टु तान्दै दौडिने उमेरमा घःचा कुदाउँदै गल्लीगल्ली, चोक चोक कुदेका साथीहरु छन् समुहमा। कति जनासँग त सानोमा घःचा (पांग्रा) ठोक्दै पशुपतिसम्म पुगेको सम्झना ताजै छ। पशुपति अहिले जस्तो नजिक थिएन उ बेला। रानीपोखरीमा टुङ्गिसक्थ्यो शहर। पशुपति टाढा लाग्नु स्वभाविक थियो। अहिले शहरको आयतन बढेको छ। एकान्त काँठ तीब्र गतिमा शहर बन्दैछ। साइकलमा उपत्यकाका काँठहरु घुम्दा शहरीकरण कसरी फैलिँदै गएको छ देख्न पाइने रहेछ। नत्र चापागाउँ, टीका भैरव, बोसन डाँडा, रिसाल डाँडाहरुमा बढ्दै गरेका बस्तीको आकार थाहा पाउनु कसरी? अब काठमाडौंमा गाउँ बाँकी छैन। सबै गाउँ नगर भइसके। तर, पनि डाँडाकाँडा घुम्दा शहर बन्ने होडमा रहेका ठाउँहरुले गाउँकै सुवास दिन्छ।

व्यस्त दिनचर्याले बोझिलो बनेको सप्ताहलाई शनिवारे साइकल यात्राले स्फुर्त बनाएको छ। मेरोमात्रै अनुभव होइन, सबै राइडरहरुको साझा अनुभव। अन्य दिन पनि साइकल चलाउन पाए त स्वास्थका लागि झनै राम्रो हुने थियो। तर, काठमाडौंको सडक, यहाँको सवारी चाप, साना सवारीलाई हेप्ने व्यवहारले साइकल चलाउन सजिलो र सुरक्षित छैन। ललितपुर महानगरले साइकल लेन कोरेको थियो सडकमा। अहिले हरिया धर्सा मेटिन थालिसकेका छन्। फेरि रंगाउने चासो महानगरले लिएको छैन। त्यसो त लेनका धर्सा हुँदा पनि कसैले चासो दिएका थिएनन्। केही समयअघि साइकल चलाउनेहरुका समूहहरु र ललितपुर महानगर मिलेर साइकल लेन सफाई अभियान पनि चल्यो। अभियन्ताहरुले सफा गरेको केही बेरमै साइकल लेन उस्तै देखियो। जहाँ साइकलका लागि भनेर सीमाङ्कन गरिएको थियो त्यहाँ फोहर फालिएको थियो भने गाडी र मोटरसाइकल निर्धक्क रोकिएको थियो।

साइकल वातावरणमैत्री सवारी हो। यसले न धुँवा फाल्छ, न आयातित पेट्रोलियम पदार्थ खपत गर्छ, न ध्वनि प्रदुषण नै। साइकललाई सडकमा जति महत्व दिइनुपर्ने हो, त्यो दिइएको छैन। यसमा सबै दोषी छन्। प्रहरी प्रशासन पनि, सरकार पनि अनि सवारी चालकहरु पनि।

काठमाडौं उत्तर–दक्षिण, बुढानीलकण्ठदेखि गोदावरीसम्म जम्मा छब्बीस किलोमिटर रहेको छ। त्यस्तै, पूर्व–पश्चिम, भक्तपुरदेखि थानकोटसम्मको दुरी पनि लगभग सत्ताइस किलोमिटर। साइकलमा यो दुरी पार गर्न कति समय लाग्ला? बढीमा डेढ घण्टा। सडकमा सवारी चाप कम हुने हो भने अझ कम समयमा यी दुरी पार गर्न सकिन्छ। तर विडम्बना! अहिले हामीलाई बुढानीलकण्ठबाट गोदावरी छिचोल्न मोटरसाइकलमा नै डेढ घण्टा भन्दा बढी समय लाग्छ। गाडीमा लाग्ने समयको चर्चा गर्नु नै व्यर्थ छ। लगभग तेह्र किलोमिटर अर्धव्यास रहेको उपत्यकाको सडकमा सवारी चापको अवस्था भने कहालीलाग्दो छ। सवारी साधनको बढ्दो चापलाई उपत्यकाको सडकले धान्न छाडेको छ। सवारी चापलाई धान्न सडक विस्तार अभियान थाले पनि त्यसले मात्रै समस्या समाधान हुँदैन भन्ने प्रमाणित भइसकेको छ।

घःचाः पुचः ४३ को साइकल यात्राको उद्देश्य व्यस्त दैनिकीमा 'रिफ्रेसमेन्टल पज' हो। चिकित्सक, इन्जिनियर, निजामती कर्मचारी लगायत विभिन्न पेशामा व्यस्त बाल्यकालका साथीहरु भेट्नु आफैँमा उपलब्धी। नयाँनयाँ ठाउँ, कतिपय पुगिसकेका, तर साइकलमा ती ठाउँको यात्रा गर्दा अनुभव बेग्लै हुने रहेछ। रिसाल डाँडा, लाकुरी भँज्याङ र कागेश्वरी। गागलफेदी, कालुपाण्डे समाधीस्थल आदि स्थानमा यात्राको अनुभव त्यस्तै रह्यो। उकालो, उकालो अनि ठाडो उकालो। तर, उकालो सकिएर गन्तव्य पुगेपछिको आनन्द बयान गर्न नसकिने। उचाईबाट देखिने उपत्यकाको दृष्यहरु, त्यहाँको मौसममा एकाएक आउने परिवर्तन वास्तवमै अवर्णनीय छन्। घःचाः पुचः ४३ को साइकलयात्रा शुरुवाती चरणमा छ। साथीहरु थपिँदैछन्। साइकलमा डाँडाकाँडा ढाक्न उमेरले नछेक्ने रहेछ। साथीभाइको प्रोत्साहनले ऊर्जा थपिँदो रहेछ। साइकल नछोएको दशकौं बितिसके पनि बाल्यकालका साथीसँग फेरि साइकल कुदाउन पाउने भएपछि बाल्यकालको जस्तै जोश फर्किएको छ साथीहरु माझ। घःचा पुचः ४३ मन मिल्ने साथीहरुको साइकल समूह बनेको छ। चार दशक लामो मित्रता झन् प्रगाढ भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell