PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

कहाँ पुग्यो जसपा सांसद प्रदीप यादवलाई पार्टीको कारबाही प्रकृया? उपेन्द्रका छोरा बोले प्रदीपको समर्थनमा



कहाँ पुग्यो जसपा सांसद प्रदीप यादवलाई पार्टीको कारबाही प्रकृया? उपेन्द्रका छोरा बोले प्रदीपको समर्थनमा
फाइल फोटो।

वीरगंज : गत कात्तिकको पहिलो साता जनता समाजवादी पार्टी (जसपा)बाट छानिएका मन्त्रीहरुको सूचिमा सांसद प्रदीप यादव नपर्दा पार्टीको निर्णयको विरोध गर्दै उनका समर्थकहरुले वीरगंजदेखि काठमाडौंसम्म प्रदर्शन गरेका थिए। त्यसैको आधारमा पार्टीले गत कात्तिक ११ गते यादवसँग स्पष्टिकरण सोधेको थियो। पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद यादवले पार्टीले सोधेको स्पष्टिकरण बुझाइसकेका छन्।

तर, जसपाले सांसद यादवलाई हालसम्म कारबाही भने गरेको छैन। यादवसँग स्पष्टिकरण लिएको दुई साता बित्न लाग्दा पनि कारबाही नगरिएको जसपा मुख्य कार्यालय काठमाडौंका प्रमुख प्रकाश अधिकारीले स्पष्ट पारे।

‘पार्टीको कार्यकारिणीको बैठक चलिरहेको छ, तर उनको स्पष्टिकरणसहितको प्रतिवेदन बैठकमा पेश गरिएको छैन’, उनले भने, ‘कारबाही हुन्छ कि हुँदैन, त्यो पार्टीको अधिकारको कुरा हो, पछि थाहा भइहाल्छ।’

जसपा सांसद प्रदीप यादवलाई कारबाहीको विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मुख खोलेका छन्। उनले पार्टी नीति र निर्णयको विरोध गर्दै प्रदीप यादवलाई समर्थन गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया लेख्दै उनले पार्टी निर्णयको विरोध गरेकै भरमा कारबाही गर्नु उचित नभएको बताएका छन्। आन्दोलनबाट स्थापित पार्टीको निर्णयविरुद्ध आवाज उठाउने नेतामाथि कारबाहीको प्रक्रिया चालिनु ठीक नभएको उनले तर्क गरेका छन्।

‘जनताबाट प्रत्यक्ष रुपमा निर्वाचित, संगठन निर्माणमा अब्बल, अहिले प्राप्त पर्सा जिल्लाको चुनाव विजय नेतृत्वकर्ता प्रदीप यादवजीलाई पार्टीले कारबाही गर्छु भन्नु विडम्बना हो’, अमरेन्द्रले आफ्नो पोस्टमा लेखेका छन्, ‘हरेक पार्टीमा हरेक व्यक्तिको आ-आफ्नो समर्थक हुन्छन्, समर्थकले नेताको पक्षमा आन्दोलन नारा जुलुस गर्दैमा कारबाही गर्छु भन्नू गलत हो, यसले पार्टीलाई शक्तिशाली होइन शक्तिहीन बनाउने काम गर्छ।’

पार्टीलाई मजबुत बनाउने युवा नेताहरुलाई सरकारमा समावेश नगराई अवसरवादी र समानुपातिकहरुलाई मन्त्री बनाएको भन्दै अमरेन्द्रले आफ्नो विरोध जनाएका थिए। कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा बोल्ने तत्कालिन जसपा सांसद सरिता गिरिलाई गरिएको कारबाही प्रति पनि उनको आपत्ति छ।

‘हिजो अरुलाई रिझाउन सरिता गिरीमाथि गरिएको कारबाहीको पनि विरोध गरेको थेँ’, अमरेन्द्र लेख्छन्, ‘न लिम्पियाधुरा फर्कियो, न प्रदीपजीलाई कारबाही गरी संगठनमा मनोबल आउँछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell