PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

जसपाको कार्यकारिणी बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग



जसपाको कार्यकारिणी बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग
फाइल फोटो।

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ। काठमाडौंमा जारी जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा मुख्यमन्त्री राउतको राजीनामाबारे आवाज उठेको हो।

पार्टीमा छलफलै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने खेल चलिरहेको आरोप लगाउँदै कार्यकारिणी समितिको छलफलमा नेताहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीको आलोचना गर्नुका साथै मुख्यमन्त्री राउतले राजीनामा गर्नुपर्ने माग गरेका थिए। केही साता अगाडि मात्रै प्रदेश २ को मन्त्री पदबाट पदमुक्त गरिएका रामनरेश रायले आफूलाई पार्टीमा छलफलै नगरी बिना कारण मन्त्री पदबाट हटाउनु आफ्नो अपमान रहेको भन्दै आक्रोश व्यक्त गरे।

मुख्यमन्त्री राउतमाथि भ्रष्टाचारको आरोप लागिरहेको समयमा उनले राजीनामा दिनुको साटो मन्त्री हटाउनु उचित नरहेको रायको भनाइ थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भ्रष्टाचार भएको प्रारम्भिक अनुसन्धानबाट ठहर गरिसकेको छ।

कार्यकारिणी समिति सदस्य समेत रहेका पूर्व मन्त्री रायले  भने, ‘मुख्यमन्त्री राउतले राजीनामा दिएर पार्टीको प्रतिष्ठा जोगाउनु पर्छ। मुख्यमन्त्रीले राजीनामा नदिए अख्तियारले विशेष अदालतमा मुद्दा गरे स्वतः पदमुक्त हुँदा पार्टीको प्रतिष्ठामाथि नै ठूलो आघात पुग्ने छ।’

उनले थप्दै भने, ‘समयमै पार्टीको नेतृत्व तहले उपयुक्त कदम चाल्नु पर्छ, नभए पार्टीमाथि नै आघात पुग्न सक्ने अवस्था आउन सक्छ।’

जसपाको सो बैठकमा डा बाबुराम भट्टराई पक्षधर तथा महेन्द्र यादव पक्षधर केही नेताहरुले समेत मुख्यमन्त्री राउतको राजीनामा माग गरेको पार्टी श्रोतको दावी छ।

यद्यपि, प्रदेश २ का सामाजिक विकास मन्त्री समेत रहेका जसपाको कार्यकारिणी समिति सदस्य नवलकिशोर साहले राय आक्रोशमा आएर राजीनामाको माग गरेपनि त्यस सम्बन्धमा बैठकमा कुनै किसिमको छलफल नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell