PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

धनुषामा कांग्रेसको पालिका अधिवेशन सकियो : ९ पालिकामा सर्वसम्मत, ९ मा निर्वाचनबाट नेतृत्व चयन



धनुषामा कांग्रेसको पालिका अधिवेशन सकियो : ९ पालिकामा सर्वसम्मत, ९ मा निर्वाचनबाट नेतृत्व चयन

जनकपुरधाम : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत धनुषामा पालिका अधिवेशन सम्पन्न भएको छ। जिल्लाका १८ पालिकामध्ये ९ वटामा सर्वसम्मत र ९ वटामा निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ।

आइतवारदेखि शुरु भएको अधिवेशन आज एक बजेसम्म चलेको थियो। ९ वटा पालिकामा सोमवार नै सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको थियो भने मंगलवार र बुधवार बाँकी रहेका ९ वटा पालिकामा निर्वाचन भएको हो। जिल्लाभरिको पालिकाको सर्वसम्मत अधिवेशन सम्पन्न भएकाहरुमा प्रमाण पत्र वितरण भइसकेको छ भने निर्वाचन भएका पालिकाहरुमा प्रमाणपत्र दिने कार्य जारी रहेको जल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए।

पूर्व सांसद आनन्द प्रसाद ढुंगानाका अनुसार धनुषा क्षेत्र नम्बर १ का ५ वटा पालिकाहमध्ये धनुषाधाम नगरपालिकामा चन्द्रदीप यादव, हंसपुर नगरपालिकामा राजनारायण कापर सर्वसम्मतले सभापति चयन भएका छन् भने निर्वाचनबाट सबैला नगरपालिकामा खटु यादव, मिथिला बिहारी नगरपालिकामा राजेन्द्र यादव र गणेशमान चारनाथ नगरपालिकामा रामसुभ यादव सभापति चयन भएका छन्।

क्षेत्र नम्बर २ का ५ पालिकामध्ये औरही गाउँपालिकामा जुगल सिंहले सर्वसम्मतले नेतृत्व पाएका छन् भने यी बाहेक ४ पालिकामा निर्वाचनबाट नेतृत्व चयन गरिएको छ। विदेह नगरपालिकामा गणेश साह, कमला नगरपालिकामा शंकर यादव, शहीदनगर नगरपालिकामा श्रीलाल यादव र जनकनन्दिनी गाउँपालिकामा दिलीप कुमार यादवले नेतृत्व पाएको पूर्व सांसद दिनेश प्रसौलाले जनाएका छन्।

यस्तै, क्षेत्र नम्बर ३ मा १ उपमहानगरपालिका सहित ४ पालिकामा सर्वसम्मतले नेतृत्व चयन गरिएको छ। प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवका अनुसार जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह, नगराइन नगरपालिकामा विनय यादव, मुखियापट्टी मुसहरमिया गाउँपालिकामा विश्वनाथ यादव र धनौजी गाउँपालिकामा रामनारायण यादव सर्वसम्मत रुपमा सभापति चयन भएका छन्।

क्षेत्र ४ का चार पालिकामध्ये दुईमा सर्वसम्मतले नेतृत्व चयन गरिएको छ। पूर्वमन्त्री महेन्द्र यादवका अनुसार लक्ष्मीनिया गाउँपालिकामा भोगेन्द्र मिश्र र क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव सर्वसम्मत रुपमा सभापति भएका छन् भने मिथिला नगरपालिकामा जोगी महतो र बटेश्वर गाउँपालिकामा राजेन्द्र यादव सभापतिमा निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell