PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश २ सरकारले गर्‍यो मधेसी शहीद प्रतिष्ठान गठन, शहीद परिवारबाट चार जना सदस्यमा नियुक्त



प्रदेश २ सरकारले गर्‍यो मधेसी शहीद प्रतिष्ठान गठन, शहीद परिवारबाट चार जना सदस्यमा नियुक्त

जनकपुरधाम : प्रदेश २ सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको छ। मधेस आन्दोलन, सशस्त्र द्वन्द्व र जनआन्दोलनलगायतमा शहीद भएकाका परिवार तथा घाइतेहरूको हकहितको लागि सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको हो।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट प्रतिष्ठानमा दुई जना मधेस आन्दोलन र सशस्त्र द्वन्द्वका शहीद परिवारका दुई जना सदस्य गरी चार जनालाई नियुक्त गरिएको छ।

मधेस आन्दोलनका शहीद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पी कुमारी साहलाई नियुक्त गरिएको छ। यस्तै, सशस्त्र द्वन्द्वका शहीद परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाललाई नियुक्त गरिएको हो।

चार जना शहीद परिवारबाट सदस्य नियुक्त भएकाहरुलाई बिहीवार एक कार्यक्रमबीच प्रतिष्ठानका अध्यक्ष समेत रहेका आन्तरिक मामिलामन्त्री भरत प्रसाद साहले प्रमाणपत्र प्रदान गरेका छन्।

प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले शहीद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्तिलगायतको व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यहरुलाई निर्देशन दिए।

प्रमाण ग्रहण गर्दै शहीद परिवार एवं मधेसी शहीद प्रतिष्ठानका सदस्य रामनरेश राय यादवले सरकारले काम गर्ने जनशक्ति र कर्मचारी दिए सरकारले ४ वर्षमा गर्न नसकेको काम आफूहरुले ४ महिनामै गर्न सक्ने बताए।

मधेसी शहीद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ। जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, शहीद तथा घाइते परिवारबाट चार जना सदस्य र मुख्यमन्त्री कार्यालयलगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell