PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एमाले महाधिवेशन : बुटवल-नारायणगढ सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक



एमाले महाधिवेशन : बुटवल-नारायणगढ सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक
फाइल फोटो।

  • रमेश पराजुली-

बुटवल : भोलि शुक्रवारदेखि चितवनमा हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै बुटवल-नारायणगढ सडकखण्मा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

निर्माणाधिन बुटवल-नारायणगढ सडक खण्ड खाल्डाखुल्डी र धुलोले बेहाल छ। दाउन्ने क्षेत्रमा उकालो ओरालोमा घुमाउरा घुम्तीसँगै साँगुरो सडक भएकाले धेरै ठाउँमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

त्यसकारण पनि महाधिवेशनका लागि आएका सवारीसाधन जाममा नपरुन भनेर बिहीवार साँझ ६ बजेदेखि शुक्रवार राति १२ बजेसम्मका लागि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

निर्माणाधिन सडकखण्डको दाउन्ने क्षेत्रमा हुने जामलाई मध्यनजर गर्दै ठूला सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए।

‘महाधिवेशनमा सहभागी हुन आउने सवारीसाधनको संख्या बढी हुने र त्यसको सहजताका लागि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएका हौँ, सडकको अवस्थाका कारण मालबाहक ट्रक, बस, टिपर र अन्य खाली ट्रकलाई समेत पूर्ण रुपमा रोक लगाइएको छ,’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने।

महाधिवेशनमा सहभागी हुन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट आउने  मानिसहरु दाउन्ने सडक हुँदै चितवन प्रवेश गर्नुपर्छ। उकालो ओरालोमा बिग्रेका गाडी तत्काल साइड लगाउन ठाउँ-ठाउँमा क्रेनको व्यवस्था गरिएको छ। शुक्रवार मध्यान्न १२ बजे हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा एमालेले लुम्बिनी प्रदेशबाट मात्रै ७५ हजार भन्दा बढी कार्यकर्ताहरु सहभागी गराउने जनाएको छ।

बुटवल-नारायणगढ सडक बन्द भएसँगै बुटवलबाट काठमाडौं जाने यात्रुबाहक बससमेत पोखरा हुँदै आवतजावत गर्नुपर्ने भएको छ। पूर्व-पश्चिम राजमार्ग भएर जाने सवारीसाधनलाई बिहीवार साँझदेखि नै रुपन्देही र गैँडाकोटबाट रोक लगाइने छ। उद्घाटन कार्यक्रममा ५ लाख मानिस सहभागी हुने एमालेले दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell