विराटनगर : संस्थापनइतर समूहबाटै सभापतिमा २ जनाको उम्मेद्वारी परेपछि नेपाली कांग्रेसको मोरङ जिल्ला समितिको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। संस्थापनइतरका डा शेखर कोइराला समूह एकातिर तथा रक्षा मन्त्री डा मीनेन्द्र रिजाल र महेश आचार्य अर्कातिर भएपछि यस समूहमा सभापतिका लागि दुई जनाको उम्मेद्वारी परेको हो।
संस्थापन पक्ष अर्थात् पार्टी केन्द्रीय सभापतिका क्याम्पबाट पूर्व राज्यमन्त्री दिलीप गच्छदारले सभापतिका लागि मनोनयन दाखिला गरेका छन्। उनलाई केन्द्रीय सदस्य अमृत अर्यालको साथ छ।
त्यस्तै, वर्तमान जिल्ला सभापति डिगबहादुर लिम्बू फेरि पनि सोही पदमा उठेका छन्। लिम्बूलाई कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाको समूहले समर्थन र सहयोग गरेको छ।
केन्द्रीय सदस्यद्वय डा रिजाल र आचार्यले यदु विष्टलाई सघाएका छन्। नेविसंघको राजनीतिबाट माथि उठेका विष्ट यसअघि पार्टीको मोरङ जिल्ला सचिव थिए।
सभापतिका लागि ३ जनाको मनोनयन परेकाले पहिलो चरणको मतदानमा सभापतिको टुङ्गो नलाग्ने देखिएको छ। सभापति पदमा विजयी हुनेले कुल मतदाता संख्याको ५० प्रतिशत कटाउनु पर्ने वैधानिक प्रावधान छ।
जिल्ला समितिको उपसभापतिका लागि निर्धारित २ वटा पदमा ५ जनाको उम्मेद्वारी परेको छ। उपसभापतिको पदमा गोपालबहादुर थापा, नागेश कोइराला, भक्तिनाथ माझी थारू, राजु मास्के र सुबोधकुमार सिंहले उम्मेद्वारी दिएका छन्।
त्यस्तै, २ जना निर्वाचित हुने सचिव पदमा ७ जना खडा भएका छन्। सचिव पदमा मनोनयन दाखिला गर्नेमा अर्जुन निरौला, मनोज बस्नेत, मोदराज घिमिरे, रबिन राई, ललितबहादुर श्रेष्ठ, शिवप्रसाद ढकाल र ज्ञानेन्द्र ढकाल छन्।
सहसचिवको २ पदका लागि अशोक रिजाल, शिवप्रसाद फुयाल, विशालकुमार गौतम, भुवनेश्वर मण्डल, सञ्जयकुमार मण्डल र सुभास भण्डारी गरी ६ जनाले उम्मेद्वारी दिएका छन्।
शनिवार हुने भनिएको जिल्ला समितिको निर्वाचन सहमति गर्ने भन्दै केन्द्रीय नेताहरूको दबाबमा आइतवार सारिएको हो। आइतवार वरगाछीस्थित होटल मनासलुमा बिहान ८ बजेदेखि मतदान हुने जानकारी निर्वाचन अधिकृत केदार कार्कीले दिए। मतदानमा पार्टीका ३ हजार ५ सय ८५ क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन्।