PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

ओलीको तजविजमा रमिते एमालेभित्रको पूर्व-माओवादी समूह



काठमाडौं : सौराहामा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष ओलीको रजगज चलेको छ। ओलीको तजविनमा रमिते बनेको छ- एमालेभित्रको पूर्वमाओवादी समूह।

तत्कालीन नेकपालाई अदालतले एमाले र माओवादी केन्द्र पूर्ववत फर्काएपछि एमालेतिर लागेका माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीहरु अहिले एमालेको १० औं महाधिवेशनमा रमिते बनेका छन्।

न त उनीहरु दुई हजार बढी प्रतिनिधिहरुको बीचमा शक्तिमा छन्। न त उनीहरु एमालेमा आफ्नो हैसियतमा देखिन्छन्। उनीहरु खाली ओलीको तजविजलाई स्वीकार गर्दै महाधिवेशनमा तालि पिट्न उपस्थित भएका छन्।

अहिले एमालेभित्र सर्वसम्मतिमा नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्री समितिको आकार बढाइएको छ। सहमति भए ओलीको तजविजमा पूर्वमाओवादी समूहबाट बादलले उपाध्यक्ष, रायमाझीले उपमहासचिव, साह र भट्ट मध्ये एकले सचिव सम्म पाउन सक्छन्।

साह भन्दा वरियतामा माथि रहेका मणि थापा सुनिन छाडिसकेका छन्। त्यस्तै चौधरीको स्थान पनि देखिँदैन्। केन्द्रीय समितिको नै निर्वाचन हुने अवस्थामा पूर्वमाओवादी समूहबाट कोही पनि पर्न सक्ने अवस्थामा छैनन्। दुई हजार बढी प्रतिनिधिमा मुस्किलले दुई सय प्रतिनिधि पनि यो समूह सँग छैन।

हुन त यो समूहले माओवादीका नेता कार्यकर्तालाई प्रलोभन दिन एमालेको १० औं महाधिवेशनलाई ‘एकता महाधिवेशन’ भन्दै आएका छन्।

प्रभु साहले १० औं महाधिवेशनलाई एकता महाधिवेशन भन्नुपर्ने भन्दै केन्द्रीय समितिको बैठकमा फरक प्रस्ताव पठाएका थिए। ओलीसँग सम्बन्ध विच्छेद गर्नेसम्मको अवस्थामा पुगेर फेरी ओलीलाई जिन्दगीभर साथ दिने उद्घोष गरेका साह अहिले आफ्नो अस्थित्व र पद जोगाउनकै लागि रमिते बनेर ओलीले जे भन्छन्। त्यसैमा तालि ठोक्दै छन्।

‘हाम्रो न त दस्तावेजमा फेरक मत राख्ने हैसियत छ। न सहमितमा नेतृत्व चयन गर्दा पदमा बार्गेनिङ गर्ने दाबी पुगेको छ,’ पूर्व माओवादी तथा रुपन्देहीबाट महाधिवेशन प्रतिनिधको रुपमा सौराहा पुगेका एक जनाले भने, ‘जे जे गर्नुहुन्छ उहाँहरु नै गर्नुहुन्छ। लड्ने पनि उहाँ (एमाले) हरु नै हो। भिड्ने पनि उहाँहरु नै हो। हामी त बस छेउमा बस्ने रमिता हेर्ने।’

एमालेको वरिष्ठ उपाध्यक्षमा इच्छा राखेका बादललाई उपाध्यक्षमा खुम्च्याइसकेका छन्। ओलीले उपाध्यक्षमा भाग पुर्‍याउनका लागि चार उपाध्यक्षबाट दुई थपेर ६ पुर्‍याइएको छ। वरिष्ठ उपाध्यक्षमा ओली समूहकै इश्वर पोखरेल र शुवास नेम्वाङको टकराव चल्दा उपाध्यक्षमा एमालेकै घनश्यामको पनि दाबी छ। उपाध्यक्षमा ओलीपक्षकै नेताहरुको लाइन देखिन्छ। निर्वाचन भइहाले उपाध्यक्षमा वादलको सम्भावना असम्भव जस्तै छ- यदी ओलीको तजविज भएन भने।

त्यस्तै पदाधिकारीमा चर्चामा रहेका रायमाझी, भट्ट र साहहरुको पनि उस्तै अवस्था देखिन्छ। केन्द्रीय सदस्यको लागि पनि निर्वाचन भएको अवस्थामा पूर्वमाओवादी समूहलाई सकस पर्ने देखिन्छ।

त्यसैले पनि उनीहरु ‘सहमति’को ओली रटानमा समर्थन गरिरहेका छन्। ‘नेतृत्व सर्वसम्मत हुन्छ भनेर हामीलाई अध्यक्ष (ओली)ले भन्नु भएको छ। त्यसै अनुरुप हामीले उहाँसँग हाम्रो आकांक्षाको बारेमा जानकारी गराएका छौँ,’ एक पूर्वमाओवादीले भने, ‘पदाधिकारी देखि केन्द्रीय सदस्य सम्मको आकांक्षाको लिस्ट उहाँसँग पुर्‍याएका छौँ।’

पूर्वमाओवादी समूहलाई समेट्नका लागि पनि ओलीले सहमतिबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएको ती नेताले बताए। ‘सहमतिमा नेतृत्व चयन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। यो महाधिवेशन एमालेको महाधिवेशन भन्दा पनि एकताकै महाधिवेशन हो,’ ती नेताले भने, ‘चुनावी प्रतिस्पर्धा हुने हो भने हाम्रो स्थान के? हामीलाई प्रतिनिधि छनोटमा पनि किनारामा पारियो। चुनाव भए हामी हार्छौँ। हामीले निर्वाचित भएको पद पनि गुमायौँ। पार्टीको पनि पद गुमाउँछौँ। हाम्रो राजनीतिक भविष्यमा विराम लाग्छ त्यस्तो भए त।’

ती नेता यति भन्दै गर्दा निरास पनि सुनिए- ‘तर, उहाँहरु भित्रै प्रतिस्पर्धा छ। ओली आफै सहमतिको अध्यक्ष बन्न बाधक देखिन्छ। हाम्रो बाटो छेक्ने त अरु पनि उभिन्छन् नी। अब जे हुन्छ अध्यक्षकै हातमा छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell