विराटनगर : दोस्रो चरणमा प्रवेश गरेको नेपाली कांग्रेसको मोरङ सभापतिको निर्वाचनमा यदु विष्टले दिलीप गच्छदारलाई समर्थन गरेका छन्। स्थानीय होटल स्वागतममा पत्रकार सम्मेलन गर्दै नेता विष्टले गच्छदारलाई समर्थन गरेको घोषणा गरेका हुन्।
यसअघि आइतवार भएको निर्वाचनमा तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत पाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको हो।
आइतवारको निर्वाचनमा डिगबहादुर लिम्बूले १ हजार ५ सय ४४, दिलीप गच्छदारले १ हजार १ सय ६६ र यदु विष्टले ५ सय ६३ मत प्राप्त गरेका थिए। कुल मत ३ हजार ५ सय ४९ मध्ये ३ हजार ४ सय १४ खसेको थियो। मतगणनामा १ सय ४७ मत बदर भए।
नेपाली कांग्रेसको विधानअनुसार जिल्ला सभापति चुनिन खसेको मतको ५० प्रतिशत मत पाउनु पर्छ।
नेता विष्टले समर्थन गरेपछि गच्छदारको स्थिति बलियो भएको छ। विष्टको घोषणा सभामा विराटनगर महानगरका मेयर भीम पराजुली पनि उपस्थित थिए।
सभामा विष्टले भने, ‘मैले धनवाद, डनवाद र माफियावादविरूद्ध न्याय र निष्ठाको राजनीतिलाई अघि बढाउन सभापति पदमा उम्मेद्वारी दिएको थिएँ। निर्वाचन परिणामले दोस्रो चरणमा प्रवेश गराएको छ। मेरा मुद्दालाई मित्र गच्छदारले अघि बढाउने प्रतिबद्धता प्रकट गर्नुभएको हुँदा उहाँलाई समर्थन गरेको छु।’
विष्टको घोषणा सभामा पार्टीका केन्द्रीय सदस्य अमृत अर्याल, राष्ट्रिय सभाका सांसद् रमेशजङ्ग रायमाझी र प्रदेश सभा सांसद् शेखरचन्द्र थापाले पनि गच्छदारलाई विजयी बनाउन आग्रह गरे।
दोस्रो चरणको निर्वाचनमा गच्छदारले डिगबहादुर लिम्बूसित प्रतिस्पर्धा गर्नुपर्ने छ। लिम्बू हाल पनि जिल्ला सभापति हुन्। उनी रक्षामन्त्री डा मीनेन्द्र रिजाल तथा केन्द्रीय सदस्यद्वय महेश आचार्य र डा शेखर कोइराला निकट हुन्। गच्छदार प्रधानमन्त्री देउवा नजिक मानिन्छन्।