विराटनगर : नेपाली कांग्रेसको प्रदेश नम्बर १ को प्रथम अधिवेशन बिहीवार दिउँसो २ बजेदेखि विराटनगरमा शुरु हुने भएको छ। कांग्रेस प्रदेश नम्बर १ का संयोजक एवं अधिवेशन तयारी समितिका समेत संयोजक कृष्ण सिटौलाको सभापतित्वमा बुधवार भएको बैठकले बिहीवार दिउँसो २ बजे उद्घाटन समारोह गर्ने निर्णय गरेको हो।
अधिवेशनको उद्घाटन संयोजक सिटौलाले गर्नेछन्। अधिवेशन प्रचार समितिका संयोजक राजीव कोइरालाका अनुसार शुक्रवार बिहान ८ बजेदेखि मोरङ कांग्रेसको कार्यालयमा मनोनयन पत्र दाखिलाबाट प्रदेश कार्यसमितिका लागि चुनावी कार्यक्रम शुरु गरिनेछ।
उम्मेद्वारको अन्तिम नामावली शुक्रवार नै प्रकाशित गरिनेछ। संयोजक कोइरालाले नेतृत्वका लागि शनिवार निर्वाचन गरिने बताए।
बैठकमा केन्द्रीय सदस्य सिटौलासहित अन्य केन्द्रीय सदस्यहरू महेश आचार्य र डा शेखर कोइराला, केशव कुमार बुढाथोकी, डा डिला सङ्ग्रौला, सरिता प्रसाईं, गुरुराज घिमिरे, पवन कुमार शारडा, आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी लगायतको उपस्थिति थियो।