विराटनगर : नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रदेश अधिवेशनको उद्घाटन समारोह शुक्रवार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। अधिवेशन आयोजक समितिका संयोजक रहेका मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको भर्चुअल सम्बोधन सुनाउन नमानेपछि अधिवेशन स्थगित गरिएको हो।
मोरङ कांग्रेसका सभापति लिम्बू रामचन्द्र पौडेल पक्षका भएकाले उनले देउवाको भाषण सुनाउन नमानेको बताइएको छ। नेपाली कांग्रेस प्रदेश नम्बर १ का संयोजक एवं पार्टी केन्द्रीय सदस्य कृष्ण सिटौलाले अधिवेशन स्थलमा बिहीवार अपराह्न ४:४५ बजे अधिवेशन स्थगित गरेको घोषणा गरे।
प्रदेश अधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई बिहीवार अपराह्न २ बजेको निम्तो पठाइएको थियो। जसअनुसार १७ सयभन्दा बढी प्रतिनिधिहरू विराटनगरस्थित अधिवेशन स्थलमा निर्धारित समयमै आएर बसेका थिए।
केन्द्रीय सदस्य सिटौलाले केही व्यवस्थापकीय समस्याले गर्दा अधिवेशनको उद्घाटन समारोह स्थगित गर्नुपरेको स्पष्टीकरण दिए। सिटौलाले शुक्रवार बिहान छोटो रूपमा अधिवेशनको उद्घाटन गरिने जानकारी दिए।
मोरङ कांग्रेसका सभापति लिम्बूले अधिवेशनको आयोजक समितिको बैठकमा अन्तिम बेलामा आएर सभापति देउवाको भर्चुअल भाषणको कुरो उठेकाले आफूले असम्भव भएको पहिलोपोस्टसित बताए। लिम्बूले शुक्रवार सभापति देउवाको भर्चुअल भाषण हुने/नहुने भन्ने विषयमा अहिले टुङ्गो नभएको उल्लेख गरे।