PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

प्रदेश २ को कांग्रेस प्रदेश अधिवेशन उद्घाटन तर निर्वाचन प्रक्रिया अझै अनिश्चित : नेतृत्वमा दुई जनाको दाबी



सुमित मिश्र

प्रदेश २ को कांग्रेस प्रदेश अधिवेशन उद्घाटन तर निर्वाचन प्रक्रिया अझै अनिश्चित : नेतृत्वमा दुई जनाको दाबी

जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन बिहीवारदेखि जनकपुरधाममा सुरु भएको छ। अधिवेशन सुरु भए पनि निर्वाचन प्रक्रिया भने अनिश्चित छ। प्रदेशका केही जिल्लामा क्षेत्रीय अधिवेशनसमेत हुन नसकेकाले निर्वाचन प्रक्रिया अनिश्चित बनेको हो।

अधिवेशन आयोजक प्रदेश समितिका संयोजक रमेश रिजालले चाँडै जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भइसक्ने दाबी गरे। जिल्लाहरुमा क्षेत्रीय अधिवेशन सकिएलगत्तै प्रदेशको निर्वाचन प्रक्रिया सुरु गर्ने उनले बताए। शनिबार मतदाता नामावली प्रकाशन, त्यसमाथिको दाबी विरोध, उम्मेदवारी दर्ता र त्यसमाथिको दाबी बिरोधका कार्यक्रमहरु निर्धारण गर्ने योजना रहेको रिजालले बताए। ‘बाँकी रहेका जिल्लामा भोलिसम्म क्षेत्रीय अधिवेशन हुनेमा विश्वस्त छु’ रिजालले भने, ‘यदि हुन सकेन भने त्यस अनुसारको प्रक्रिया अगाडि बढाउँछौं।’

प्रदेश सभापतिमा बल्ल खुले दुई जना

पहिलो पटक हुन गइरहेको कांग्रेसको प्रादेशिक अधिवेशनमा नेतृत्वका लागि संस्थापन र संस्थापन इतरका एक जना नेताले आकांक्षा देखाएका छन्। धनुषाका पूर्वसभापति रामसरोज यादव र रौतहटका कृष्णा यादवले प्रदेश समितिको सभापतिका लागि उम्मेद्वारी घोषणा गरेका छन्। धनुषाका पूर्वसभापति रामसरोज प्रदेश २ सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्रीसमेत हुन्। उनी यसअघि जिल्ला विकास समितिको सभापति र संविधानसभा सदस्य पनि भइसकेका छन्। रौतहटका यादव पनि दोस्रो पटक जिल्ला सभापति भइसकेका व्यक्ति हुन्। २०६४ सालमा भएको पहिलो  संविधानसभा निर्वाचनको समयमा उनी संविधानसभा सदस्य थिए। यता नेपाली कांग्रेसका महोत्तरी सभापति महेन्द्र रायले पनि सभापतिमा उम्मेदवारी दिने चाहना राखेका थिए। पछि सहमतिअनुसार उनले कृष्ण यादवलाइ समर्थन गरे। यादवले उम्मेदवारी घोषणा गर्दा राय मञ्चमा सँगै देखिएका थिए। चार पटक महोत्तरी जिल्लाको सभापति भइसकेका नेता हुन् महेन्द्र राय। उनी २०५६ सालमा महोत्तरी क्षेत्र नम्बर ४ बाट सांसदमा निर्वाचित हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति सहायक मन्त्री पनि बनेका थिए। यादवले उम्मेदवारी घोषण गरी रहँदा उनीसँग कांग्रेस निवार्चन समिती प्रदेश २ का संयोजकसमेत रहेका कांग्रेसका नेता रमेश रिजाल। केन्द्रीय सदस्यहरु महेन्द्र यादव, आनन्दप्रसाद ढुंगानालगायतले आफूहरुको समर्थन कृष्ण यादवलाइ रहेको बताएका थिए।

यस्तै सभापतिका लागि दिनेश यादवले पनि इच्छा देखाएका छन्। यद्यपि उनी भने खुलेर अहिलेसम्म आएका छैनन्। यादव सप्तरी जिल्लाका सभापतिसमेत हुन्। सप्तरीका सभापति यादव पनि जिल्ला विकास समितिका सभापति भइसकेका छन्। उनी अहिले दोस्रो पटक जिल्लाको सभापतिमा छन्। प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेका कृष्ण यादव संस्थापन देउवा पक्षका छन्। प्रदेश मन्त्री रामसरोज भने उपसभापति विमलेन्द्र निधि निकट मानिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell