जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि प्रकृया चलिरहेको समयमा पनि क्षेत्रीय अधिवेशनलाई लिएर कयौँ जिल्लाहरुमा विवाद कायमै रहेको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा क्षेत्रीय अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र नै नदिँदा विवाद उत्पन्न भएको हो।
रौतहट क्षेत्र नम्बर ४ को अधिवेशनलाई लिएर उजुरी परेको र सो उजुरीमाथिको सुनवाइ समाप्त भएपछि मात्रै निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र दिइने रौतहटका निर्वाचन अधिकृत दीपकराज रेग्मीले बताए।
रेग्मीले भने, ‘रौतहट ४ को क्षेत्रीय सभापतिका प्रत्यासी प्रेमशंकर यादवले निर्वाचन बदर गरी पाउँ भनी दिएको उजुरीका कारण निर्वाचित प्रतिनिधिलाई अहिलेसम्म प्रमाणपत्र दिन सकिएको छैन। उजुरी परेपछि मतदान अधिकृतलाई सत्य तथ्य बुझेर प्रतिवेदन बुझाउन भनेको र प्रतिवेदन आए लगत्तै समस्या समाधान हुने छ।’
यता, नेपाली कांग्रेस रौतहटका सभापति एवं कांग्रेस प्रदेश २ को सभापति पदका उम्मेद्वार कृष्णा यादवले निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र नदिएर निर्वाचन अधिकृतले आफूखुसी गरिरहेको आरोप लगाएका छन्।
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिका लागि भएको मतदानमा २ सय ५७ मत ल्याएर रामसिनेही यादव सभापतिमा निर्वाचित भएका छन् भने उनका प्रत्यासी प्रेमशंकर यादवले २ सय ३७ मत ल्याएका थिए।