
जनकपुरधामः नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा चुनावी प्रक्रिया प्रारम्भ भए पनि प्रदेश २ मा भने अझै अन्योल छ। प्रदेशका ८ जिल्लाका ३२ प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अविधेशन स्थगित भएको निर्वाचन समिति सदस्य अरुण यादवले बताए।
सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ ९ख०, सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन।
त्यसैगरी, सर्लाहीमा अहिलेसम्म वडा अधिवेशन समेत हुन सकेको छैन।
निर्वाचन टोलीले सर्लाही पुगेर निर्वाचनको वातावरण बनाइसकेको र आइतबारसम्म जिल्लाका सबै तहका अधवेशन सम्पन्न हुने सम्भावना रहेको निर्वाचन समिति सदस्य यादवले बताए।
शनिवार रातिसम्म सर्लाहीबाहेक सबै जिल्लाका नामावली प्राप्त हुने सम्भावना रहेको बताउँदै निर्वाचन समितिका सदस्य यादवले भने, ‘२० मंसिरसम्म प्रदेश अधिवेशन सम्पन्न गर्नुपर्ने भएकोले आइतबारदेखि मनोयन दर्ता सुरु हुनेछ।’
थपिए एक उम्मेदवार
प्रदेश अविधेशनमा शेरबहादुर देउवा समूहबाट रौतहटका सभापति कृष्णा यादव, उपसभापति विमलेन्द्र निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव उम्मेद्वारी घोषणा गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला समूहले उम्मेदवार तय गर्न सकेको छैन। तर उक्त समूह निकटका रञ्जीत कार्णले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। कर्णले आफू स्वतन्त्रबाट उम्मेदवारी दिए पनि रामचन्द्र पौडेल र शशांका कोइराला समूहको समर्थन रहने बताए।
अधिवेशनमा महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, केन्द्रीय सदस्य गरी प्रदेश २ मा एक हजार आठ सय ८८ जना मतदाता रहेका छन्।