PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

कांग्रेस महाधिवेशन : पर्सामा राम्राभन्दा हाम्रा नेता निर्वाचित, यी दिग्गज नेताले भोगे पराजय



कांग्रेस महाधिवेशन : पर्सामा राम्राभन्दा हाम्रा नेता निर्वाचित, यी दिग्गज नेताले भोगे पराजय

वीरगंज : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पर्सामा भएको प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशनमा पर्साका प्रख्यात नेताहरुले हारको सामना गर्नु परेको छ। पूर्व जिल्ला सभापति, पूर्व सांसद, जनप्रतिनिधिहरु, प्राध्यापकहरु, महिला नेतृहरु लगायतले महाधिवेशनमा हार व्यहोर्नु परेको हो।

नेपाली कांग्रेस पर्साका पूर्व सभापति एवं पूर्व सांसद तथा शहीद तेज बहादुर अमात्यका पुत्र राजेन्द्र बहादुर अमात्य, हरि खेतान क्याम्पसका क्याम्पस प्रमुख डा भगवान यादव, उपप्राध्यापक डा सुष्मा तिवारी, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व सहायक प्रमुख एवं नेपाली कांग्रेस पर्साका जिल्ला सचिव रोशन लामिछाने, कांग्रेस नेता एवं नेत्रज्योती संघका पूर्व महासचिव श्याम पोखरेल, जनप्रतिनिधिहरु हविव मियाँ, ध्रुब नेपाल, ब्रहमदेव राउत कुर्मी, पुराना नेता जतन राउत कुर्मी, पत्रकार अशोक तिवारी, कांग्रेस नेता जोखन दास थारु, महिला नेतृहरु रुपा देवी श्रेष्ठ, बिद्या श्रेष्ठ, उत्तमा प्याकुरेल, कांग्रेस नगरसभापति भोला कलवार, हरेन्द्र सिंह, वीरबहादुर यादवले अनपेक्षित हार बेहोरेका छन्।

नगर क्षेत्रबाट मत नपाउँदा उनीहरुले हार बेहोरेका हुन्। राम्राभन्दा हाम्रा नेता जिताउन पछिल्लो चुनाव केन्द्रित रहेको नेताहरुको गुनासो छ।

कांग्रेस पर्साले लोकतन्त्रको नाममा गरेको निर्वाचन अभ्यासले पार्टीपंक्तिभित्र तिक्तता बढाउने आशंका उत्पन्न भएको छ। अन्तरकलह र अन्तरघातको श्रृखंलाका कारण लामो समयदेखि पराजयको पीडा भोगेको कांग्रेसले यो निर्वाचनबाट पनि विगतकै समस्याले निरन्तरता पाएको आभाष नेता कार्यकर्ताले गरेका छन्।

यसअघिका निर्वाचनमा हुने गरेको अन्तरघात र अन्तर कलहको समस्या यो निर्वाचनमा पनि पुनः दोहोरिएपछि आगामी निर्वाचनमा पार्टीले ठूलो क्षति व्यहोर्ने अवस्था आउन सक्ने कांग्रेसकै नेता कार्यकर्ताहरुको विश्लेषण छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell