
जनकपुरधाम : नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन स्थगित हुने सम्भावना बढेको नेताहरुले बताएका छन्। प्रदेश अधिवेशन उद्घाटन भएको ४ दिन बितिसक्दा पनि मतदाता नामावली सार्वजनिक हुन नसक्दा अधिवेशन नै पछि सर्ने सम्भावना बढेको हो।
प्रदेशका २ को ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्रहरु छन्। जसमध्ये मध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताहरुको नाम आउन नसकेको निर्वाचन समितिले जनाएको छ। सर्लाही जिल्लाको कयौँ वडामा अधिवेशन नै रोकिको छ।
जिल्लाको निर्वाचन समितिहरुबाट प्राप्त हुनुपर्ने मतदाताको नामावली अझै पनि प्राप्त हुन नसकेका कारण पूर्व घोषित निर्वाचन तालिका अनुसार प्रक्रिया अगाडि बढाउन नसकिएको प्रदेश २ का संयोजक रमेश रिजाल बताउँछन्।
'निर्वाचन तालिका अनुसार मंसिर १८ गते निर्वाचन गर्नुपर्ने थियो तर हुन सकेन' रिजालले भने ‘मतदाता नामावली ३ जिल्लाबाट आउन सकेको छैन। सम्भावना पनि न्यून नै लागि रहेको छ। आज ३ बजेसम्म मतदाता नामावली केन्द्रबाट पठाउने भनिएको छ। मतदाता नामावली आयो भने निर्वाचन प्रक्रिया अगाडि बढाउने प्रयास गर्छौँ। नआए छलफल गरेर के गर्ने विषयमा निर्णय गर्नेछौँ।'
मतदाताहरुको नामावली आउन नसकेकै कारण मनोनयन पत्र दर्ता गर्ने कार्य स्थगित गर्नु परेको प्रदेश २ को रजिष्ट्रेशन संयोजक विशेश्वर यादवले जानकारी दिए।
स्रोतका अनुसार प्रदेशको नेतृ्त्व चयनको प्रक्रिया अब केन्द्रिय महाधिवेशनपछि मात्र हुने तयारी भइरहेको छ।
जनकपुरधाममा सीताराम विवाह महोत्सव प्रारम्भ भइसकेको र मूल समारोह मंसिर २२ गते रहेकाले अब मतदान गराउन कठिन रहेको स्रोतले जनाएको छ।