PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जनकपुरधाममा यसरी मनाइयो ‘मटकोर’

विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जनकपुरधाममा यसरी मनाइयो ‘मटकोर’

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज ‘मटकोर’ मनाइएको छ। जनकपुरधामको धार्मिक तथा ऐतिहासिक गंगासागरमा आज मिथिलाको परम्परा अनुसार भगवान श्रीराम र जानकीको मटकोर गरी मटकोर विधि मनाइएको हो।

मटकोरमा प्रसादको रुपमा चना र चामल वितरण गरिन्छ। विवाहको शुद्धिकरणका लागि मटकोर गर्ने परम्परा छ।

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झना स्वरुप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्वस मनाउने गरिन्छ।

मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्यक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ।

यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रवार जनकपुरधाम नगर दर्शन, शनिवार फूलबारी लीला, आइतवार धनुष यज्ञ र सोमवार तिलकोत्सव विधि मनाइएको थियो।

त्यस्तै, आज मटकोर, बुधवार स्वयंवर तथा विवाह र बिहीवार रामकलेवा विधिको कार्यक्रम आयोजना गरिने छ। यस वर्ष विवाहपञ्चमीमा भारतको सिमावर्ती क्षेत्र र नेपालका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु सहभागी भएका छन्।

रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागी भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell