काठमाडौं : ‘नेपग्याजम कमेडी’ले ‘रोस्ट एण्ड र्याप ब्याटल’को नयाँ श्रृंखलाका लागि फरक प्रयोग सहितको ट्रेलर सार्वजनिक गरेको छ। ट्रेलरमा कलाकार लेखमणि त्रितालको तीन फरक पात्र (लेखमणी त्रिताल, रमेश अंकलको छोरो र रमेश चाचा के लैका)लाई एउटै स्क्रिनमा एकअर्कासँग उडन्ते पारामा ब्याटल गर्दै गरेको देख्न सकिन्छ।
नेपग्याजमको आधिकारीक युट्युब च्यानलमा सार्वजनिक ट्रेलरलाई दर्शकहरूले राम्रो प्रतिक्रिया दिइरहेका छन्। ट्रेलर हेरेपछि पूरा श्रृंखला हेर्न आतुर रहेको दर्शकहरूको प्रतिक्रिया छ।
युवामाझ अत्यधिक रुचाइएका स्ट्याण्डअप कमेडियन हुन् लेखमणि त्रिताल। उनले स्ट्याण्डअप कमेडीका सामग्रीहरुमा आफ्नो साथी रमेश अंकलको छोरोको प्रशङ्ग, उसको हाउभाउ, उसको उट्पट्याङ लवज तथा घटनाहरुलाई भिडियोमा समावेश गर्दै आएका छन्। त्यस्तै, रमेश चाचा के लैकालाई तराइको पात्रको रुपमा उनले पस्किदै आएका छन्।
‘ठ्याक्कै त भन्न सकिन्न तर जारी सामग्री सम्भवतः यस वर्गको हाँस्य सामग्री विधाहरुमा नेपालमै यो पहिलो प्रयोग हुनसक्छ, नेपग्याजमको परिकल्पना र लेखमणी त्रितालको लेखनमा यो सामग्री हामीले तयार पारेका हौँ,’ नेपग्याजमका व्यवस्थापकीय निर्देशन आशिष शाहीले भने।
त्यस्तै, विशेष श्रृंखलामा ट्रिपल रोलमा देखिएका कलाकार त्रिताल भन्छन्, ‘धेरै अघिदेखि आफूले अभिनय गरेका पात्रहरुलाई एउटै स्क्रिनमा ल्याउने मेरो योजना थियो। तर, कहिले कोरोना, कहिले लकडाउन, कहिले के-केले गर्दा काम गर्न सकिएको थिइएन। केही दिन अघि साथीहरुको बसाइमा ट्रिपल रोल गर्ने कुरो भयो र सामग्री तयार पनि गर्यौँ। म उत्साहित छु, मिहिनेत साथ यसको उत्पादन तथा सम्पादनमा एउटा राम्रो अभ्यास गरेका छौँ, पहिलो ट्रेलरमा दर्शकले देखाउनुभएको प्रतिक्रिया तथा जोश हेर्न लायक छ। मलाइ आशा छ फाइनल सामाग्रीले यहाँहरुलाई मनोरञ्जन प्रदान गर्नेछ।’
नेपाली स्ट्याण्डअप कमेडीमा विगत ५ वर्षदेखि निरन्तरता दिँदै आएको ‘नेपग्याजम कमेडी’ले पछिल्लो समय हाँस्य विधामा फरक प्रयोग गर्दै आएको छ। स्ट्याण्डअप विधा बाहेक नेपग्याजमले युवावर्गलाई लक्षित गर्दै ‘रोस्ट एण्ड र्याप ब्याटल’, नेपग्याजम बहस तथा प्रहसन विधामा ‘नाटकै हो’मार्फत् मनोरञ्जन प्रदान गर्दै आएको छ।