PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पोखराको लेकसाइडमा पुस १५ देखि १७ गतेसम्म २३औँ सडक महोत्सव हुने



पोखराको लेकसाइडमा पुस १५ देखि १७ गतेसम्म २३औँ सडक महोत्सव हुने

पोखरा : रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान)को आयोजनामा पोखराको लेकसाइडमा २३औँ पोखरा सडक महोत्सव हुने भएको छ। रेवानले हरेक अंग्रेजी नयाँ वर्षमा आयोजना गर्दै आएको सडक महोत्सव यस वर्ष पुस १५ गतेदेखि १७ गतेसम्म हुने रेवान अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए।

‘समृद्ध समाजको लागि सुरक्षित पर्यटक प्रवर्द्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ फेवा किनारमा विभिन्न साँस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बरालले जानकारी दिएका हुन्। महोत्सवले आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनको अपेक्षा राखेको रेवानले जनाएको छ।

रेवानले गत वर्ष कोरोना महामारीको उच्च जोखिमका समयमा पनि महोत्सव गरेको थियो। यसवर्षको महोत्सवमा पनि स्वास्थ्य मापदण्ड पालना गरिने बरालले बताए।

‘अघिल्लो पटकको जस्तै हेल्थ प्रोटोकललाई विशेष ध्यानमा राख्दै विभिन्न स्थानमा हेल्थ डेस्क, मास्क तथा स्यानिटाइजर जस्ता सुरक्षाका उपायहरु अपनाइने छ,’ बरालले भने।

तीन दिनसम्म हुने महोत्सव सभ्य र सुरक्षित रुपमा सम्पन्न गरिने उनको भनाइ छ। आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गर्न जनजातिसँग सम्बन्धित साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा र  ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामग्रीहरुको संरक्षण गर्ने उद्देश्य महोत्सवको रहेको रेवानले जनाएको छ।

पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल’ बनाउनका लागि प्रत्येक वर्ष आयोजना हुँदै आएको सडक महोत्सवको मूल नारा ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ छ। महोत्सव पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म हुन्छ। महोत्सव अवधिभर लेकसाइडको ३ किलोमिटर सडक क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाइन्छ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्रास्ट्रिय साँस्कृतिक कार्यक्रम विशेष आकर्षणको रुपमा रहने छ। महोत्सवमा कलाकार, हाँस्य कलाकार र रातिमा लाइभ कन्सर्ट हुने रेवानले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell