PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

हेटौँडामा अन्तरप्रदेश समन्वय बैठक शुरु, संघीयता कार्यान्वयनमा बैठकले महत्वपूर्ण योगदान दिने विश्वास



हेटौँडामा अन्तरप्रदेश समन्वय बैठक शुरु, संघीयता कार्यान्वयनमा बैठकले महत्वपूर्ण योगदान दिने विश्वास

हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडामा पहिलो पटक अन्तरप्रदेश समन्वय बैठक आइतवारदेखि शुरु भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गरेको बैठकमा संघीय सरकारका मुख्य सचिव शंकरदास वैरागीसहित सातै प्रदेशका प्रमुख सचिवहरु रहेका छन्।

प्रदेशहरुका असल अभ्यास, संघीय सरकार र स्थानीय तहसँगको समन्वय, प्रेरणादायी कार्य र समस्या तथा चुनौतीहरुका बारेमा विस्तृत छलफल गरेर निष्कर्ष निकाल्ने उद्देश्यले अन्तरप्रदेश समन्वय बैठक राखिएको वाग्मती प्रदेशका प्रमुख सचिव किरणराज शर्माले जानकारी दिए।

बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशमा काम गर्नका लागि संघीय सरकारले निजामती सेवा ऐन र प्रहरी समायोजन नल्याएकाले समस्या भएको बताए। संघीय सरकारले योजना हस्तान्तरण गर्ने तर रकम उपलब्ध नगराएकाले योजनाहरु सम्पन्न गर्न समस्या भएको उनको भनाइ थियो।

संघीय सरकारले औद्योगिक क्षेत्रहरुलाई बेवारिसे बनाएको आरोप लगाउदै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारलाई औद्योगिक क्षेत्रहरु हस्तान्तरण गर्न माग गरेका थिए। संघीयता कार्यान्वयन गर्न बैठकले महत्वपूर्ण योगदान दिने उनले बताए।

कार्यक्रममा मुख्य सचिव शंकरदास वैरागीले प्रशासकहरु विकासका संवाहक भएको बताए। उनले नागरिक र सरकारको सेतुको काम प्रशासकहरुले गर्नु पर्ने विचार व्यक्त गरेका थिए। संघीयता कार्यान्वयन गर्न सो बैठकले सकारात्मक भुमिका खेल्ने उनको तर्क थियो।

वाग्मती प्रदेश सरकारले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलिया, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेललगायतको सहभागिता थियो। बैठक मंगलवारसम्म सञ्चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell