काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले दोस्रो प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सभापतिमा समर्थन गर्नुको कारण बताउनुपर्ने बताएका छन्।
राष्ट्रिय सभागृहमा भइरहेको मतदान अन्तिमचरणमा पुग्दा संचारमाध्यमहरुसँग कुरा गर्दै थापाले पहिलो चरणको मतदानको मध्यरातसम्म शेरबहादुर देउवालाई पराजित गर्नुपर्छ भनेर लागेकाहरुले भोलिपल्टै कुरा फेरेको भन्दै जवाफ मागेका हुन्।
‘पार्टीको प्रतिस्पर्धामा छौं। दोस्रो चरणमा कसलाई छनौट गर्ने भन्ने उहाँहरुको अधिकारको कुरा हो। तर, उहाँहरुले एउटा प्रश्नको उत्तर दिनुपर्छु’, थापाले भने ‘ हिजो मध्यरातसम्म नेतृत्व परिवर्तन गर्नुपर्छ, फलानो मान्छेको पराजय महत्वपूर्ण हो मेरो जित भन्दा भन्नेहरुले किन आज समर्थन दिए ? नयाँ परिवेशमा निर्णय गर्न पाइन्छ। तर जवाफ दिनुपर्छ।’
थापाले कस्तो अवस्थामा देउवालाई समर्थन गरियो भन्नै कुरा निधि र सिंहले पार्टी कार्यकर्ता र देशलाई बताउनुपर्ने भन्दै भने, ‘ यो प्रश्नले पछिसम्म उहाँहरुलाई लखेट्नेछ। हिजोसम्म देउवालाई दोष दिनेहरुले आज किन समर्थन गरे? साथीहरुले दिनुपर्छ।’
सभापतिका प्रत्यासी शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा लडेका थापाले देउवालाई निधि र सिंहको समर्थन भएपनि मतपरिणम आफ्नो पक्षमा पनि आउन सक्ने बताए। मत परिणामबारे ढुक्क हुन नसक्दा प्रधानमन्त्री देउवा पाँच घण्टा सभागृहमा बसेर मत मागिरहेको उनको टिप्पणी थियो।
‘परिणम जे पनि हुन सक्छ। आज प्रधानमन्त्री पाँच घण्टा उभिनु भयो। स्ववियू निर्वाचन जस्तो लाग्यो। बुढो मान्छे, हात जोडेर बसे। उहाँ पनि कन्फिडेन्ट हुनु हुन्न’ थापाले भने, ‘हिजो म जित्छु भन्ने थियो होला। आज तीनजनाले समर्थन गर्दा पनि कन्फिडेन्ट हुनुभएको छैन। मनमा कतै न कतै डर छ। किन भने त्यो जग नै कमजोर छ।’