पोखरा : शहीद स्मारक ‘ए’ डिभिजन लिगका तीन खेल यसवर्ष पोखरा रंगशालामा हुँदैछन्। सार्वजनिक तालिका अनुसार ३, १७ र २४ पुसमा पोखरामा पहिलोपटक ‘ए’ डिभिजन लिगको खेल हुन लागेको हो।
पहिलोपटक पोखरामा भित्रिएको ‘ए’ डिभिजन लिगमा टिम मनाङ मर्स्याङ्दी क्लब घरेलु मैदानमा आफ्ना प्रतिस्पर्धीसँग भिड्दै छ। जसको तयारी अन्तिम चरणमा पुगेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरामा हुने लिगका खेलको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको हो। लिगका निर्देशक सञ्जीव मिश्रले खेलका लागि आवश्यक तयारी पूरा भएको जनाएका छन्। उनले पहिलोपटक पोखरामा हुन लागेको लिगका ३ खेललाई होम/अवेको अवधारणाको परीक्षणका रुपमा लिने बताए।
‘यो खेललाई होम एन्ड अवे नभनौँ तर भोलिको दिनमा हुने खेलका प्राविधिक कुराका लागि ट्रायलका रुपमा लिन सकिन्छ’, उनले भने।
खेलमा फिफा र एएफसीको मापदण्ड पालना गरिने उनको भनाइ छ।
खेलका लागि घरेलु मैदान रोजेको मनाङले पोखरामा हुने लिगको सम्पूर्ण खर्च व्यहोर्दै छ। मनाङ क्लबका सदस्य विजय घलेले पोखरामा हुने तीन खेलको आर्थिक व्ययभार क्लब आफैँले लिने बताए।
यस्तै, खेल हेर्न दर्शकलाई १ सय र ३ सय टिकट शुल्क राखिएको छ। टिकटको सम्पूर्ण आम्दानी मनाङ क्लबले नै राख्ने भएको छ।
यता, पोखरामा ‘ए’ डिभिजन लिगको खेल हुने भएपछि पोखरा रंगशालाको भौतिक संरचनाको स्तरोन्नति धमाधम भइरहेको छ। एन्फा कास्की अध्यक्ष मिलन गुरुङका अनुसार लिगका लागि मैदानको स्तरोन्नति र पूर्वाधारको तयारी भइरहेको छ।
खेलका लागि दुई टिम पोखरामा
पोखरामा हुने तीन खेलमध्ये पहिलो खेल ३ पुसमा हुँदैछ। पहिलो खेलमा मनाङ नेपाल पुलिससँग प्रतिस्पर्धा गर्दैछ।
घरेलु मैदानमा खेल्न मनाङको टोली आज पोखरा आइपुगेको छ। यस्तै, प्रतिस्पर्धी टिम नेपाल पुलिस पनि आजै पोखरा आइपुगेको छ।
यस्तै, १७ पुसमा मनाङसँग ब्रिगेड ब्वाइजले प्रतिस्पर्धा गर्दैछ। २४ गते हुने खेलमा च्यासल युथ क्लब र मनाङ भिड्दै छन्।