काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा जित नजिक पुगेका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा दुवैले सुरुवातदेखि नै अग्रता कायम राख्दै आएका छन्।
महामन्त्रीको दुई पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
३ हजार १२० मत गणना हुँदा गगन थापाले २ हजार ३७ मत ल्याएका छन्। दोस्रो स्थानमा १ हजार २५५ मत ल्याउँदै विश्वप्रकाश शर्मा छन्। गगन शेखर कोइराला प्यानल र विश्वप्रकाश प्रकाशमान प्यानलबाट महामन्त्रीमा उम्मेदवार हुन्।
सोमबारको मतदानमा ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए ।
प्रारम्भिक मतपरिणाम अनुसार तेस्रो स्थानका लागि प्रकाशशरण महतले १०२४ मत ल्याउँदा प्रदीप पौडेलले ९३५ मत ल्याएका छन्। दुवैजना सभापतिमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन्।
यस्तै, शेखर प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका मीनेन्द्र रिजालले ५४६ पाउँदा राजाराम कार्कीले ७५ मत पाएका छन्।