PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

यी हुन् कांग्रेसका आठ सहमहामन्त्री



यी हुन् कांग्रेसका आठ सहमहामन्त्री

काठमाडौं : १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसका आठ सहमहामन्त्री निर्वाचित भएका छन्। महिला, दलित, आदिवासी/जनजाति, खसआर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्र गरी आठ क्लस्टरबाट एक/एक जना सहमहामन्त्री निर्वाचित भएका हुन्।

आठमध्ये ६ जना शेरबहादुर देउवा प्यानलबाट र २ जना शेखर कोइराला प्यानलबाट निर्वाचित भएका छन्।

महिलातर्फको सहमहामन्त्रीमा कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ प्रतिस्पर्धामा थिए। जसमा उपाध्यायले कोइराला प्यानलकी उम्मेद्वार पन्तलाई पराजित गरिन्। उपाध्याय देउवा प्यानलकी हुन्।

त्यस्तै, दलिततर्फको सहमहामन्त्रीमा कोइराला प्यानलका जीवन परियार विजयी भए। प्रतिस्पर्धात्मक रुपमा परियारले देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन्। सो क्लस्टरमा परियार र विश्वकर्मासहित गंगा सुनार पनि प्रतिस्पर्धामा थिइन्।

आदिवासी जनजाति क्लस्टरतर्फ देउवा प्यानलका भीष्मराज आङ्देम्बे निर्वाचित भए। आङ्देम्बेले शेखर प्यानलका विकास लामालाई पराजित गरेका हुन्।

खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी भए। उनी देउवा प्यानलका हुन्। उनले प्रतिस्पर्धी देवराज चालिसेलाई पराजित गरेका हुन्।

त्यस्तै, मधेसी क्लस्टरतर्फ पनि देउवा प्यानलकै महेन्द्र यादव विजयी भए। उनले कोइराला प्यानलका रामकृष्ण यादवलाई पराजित गरेका हुन्।

यसैगरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर विजयी भए। उनी पनि देउवा समूहका हुन्। उनले कोइराला प्यानलका शेख वकिललाई हराए।

थारूतर्फको क्लस्टरबाट कृष्णप्रसाद सिटौला टिमका उमाकान्त चौधरी निर्वाचित भए। उनी सिटौला टिमका भएपनि देउवा प्यानलबाट चुनाव लडेका थिए। उनले सुरेन्द्र प्रसाद चौधरी र तेजुलाल चौधरीलाई हराएका हुन्।

यता, पिछडिएको क्षेत्रतर्फ कोइराला प्यानलबाट उम्मेद्वार बनेका बद्री पाण्डे निर्वाचित भए। पाण्डे कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई पराजित गर्दै सहमहामन्त्री बनेका हुन्। शाही देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेद्वार बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell