काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ। मंसिर २४ बाट भृकुटीमण्डपमा भएको महाधिवेशनबाट १३ पदाधिकारीका लागि भएको निर्वाचनमा सभापतिमा शेरबहादुर देउवा नै दोहोरिएका छन्।
मंसिर २७ गते निर्वाचन सकिनसाथ सभापतिको मत गणना शुरु भएको थियो। सभापतिमा देउवासहित पाँच जनाले उम्मेद्वारी दिएका थिए। पहिलो चरणमा कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलो र दोस्रो भएका दुई उम्मेद्वार देउवा र डा शेखर कोइरालाबीच २८ गते पुन निर्वाचन भएको थियो। निर्वाचनबाट देउवा पुन सभापतिमा निर्वाचित भएका हुन्। महाधिवेशनबाट पदाधिकारीमा देउवाले बहुमतसमेत प्राप्त गरेका छन्। १३ पदाधिकारीमा देउवासहित एक उपसभापति र ६ सहमहामन्त्री देउवा प्यानलबाट निर्वाचित भएका छन्।
उपसभापतिमा खड्का र गुरुङ
उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का निर्वाचित भएका हुन्। अर्का उपसभापतिमा डा शेखर प्यानलका धनराज गुरुङ निर्वाचित भए।
महामन्त्रीमा गगन र विश्वप्रकाश
दुई महामन्त्रीमा भने देउवा प्यानलबाट निल भयो। शेखर प्यानलका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भए। नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।
यी हुन् ८ सहमहामन्त्री
८ सहमहामन्त्रीमा ६ जना देउवा प्यानलबाट र २ जना शेखर प्यानलबाट निर्वाचित भएका छन्। महिला, दलित, आदिवासी/जनजाति, खसआर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्र गरी आठ क्लस्टरबाट एक/एक जना सहमहामन्त्री निर्वाचित भएका हुन्।
महिलातर्फको सहमहामन्त्रीमा कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ प्रतिस्पर्धामा थिए। जसमा उपाध्यायले कोइराला प्यानलकी उम्मेद्वार पन्तलाई पराजित गरिन्। उपाध्याय देउवा प्यानलकी हुन्।
त्यस्तै, दलिततर्फको सहमहामन्त्रीमा कोइराला प्यानलका जीवन परियार विजयी भए। प्रतिस्पर्धात्मक रुपमा परियारले देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन्। सो क्लस्टरमा परियार र विश्वकर्मासहित गंगा सुनार पनि प्रतिस्पर्धामा थिइन्।
आदिवासी जनजाति क्लस्टरतर्फ देउवा प्यानलका भीष्मराज आङ्देम्बे निर्वाचित भए। आङ्देम्बेले शेखर प्यानलका विकास लामालाई पराजित गरेका हुन्।
खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी भए। उनी देउवा प्यानलका हुन्। उनले प्रतिस्पर्धी देवराज चालिसेलाई पराजित गरेका हुन्।
त्यस्तै, मधेसी क्लस्टरतर्फ पनि देउवा प्यानलकै महेन्द्र यादव विजयी भए। उनले कोइराला प्यानलका रामकृष्ण यादवलाई पराजित गरेका हुन्।
यसैगरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर विजयी भए। उनी पनि देउवा समूहका हुन्। उनले कोइराला प्यानलका शेख वकिललाई हराए।
थारूतर्फको क्लस्टरबाट कृष्णप्रसाद सिटौला टिमका उमाकान्त चौधरी निर्वाचित भए। उनी सिटौला टिमका भएपनि देउवा प्यानलबाट चुनाव लडेका थिए। उनले सुरेन्द्र प्रसाद चौधरी र तेजुलाल चौधरीलाई हराएका हुन्।
यता, पिछडिएको क्षेत्रतर्फ कोइराला प्यानलबाट उम्मेद्वार बनेका बद्री पाण्डे निर्वाचित भए। पाण्डे कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई पराजित गर्दै सहमहामन्त्री बनेका हुन्। शाही देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेद्वार बनेका थिए।