PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

प्रदेश २ अधिवेशनमा शेखर समूहको इन्ट्री! केन्द्रमा एक भएका देउवा र निधिले प्रदेशमा के गर्लान् ?



सुमित मिश्र

प्रदेश २ अधिवेशनमा शेखर समूहको इन्ट्री! केन्द्रमा एक भएका देउवा र निधिले प्रदेशमा के गर्लान् ?

जनकपुरधाम : नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भइसकेको छ। फेरि एकपटक शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व गर्ने अवसर पाएका छन्। कांग्रेस पदाधिकारीहरु पनि महाधिवेशनबाट निर्वाचित भइसकेका छन्। हाल केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना हुँदैछ। 

यसबिच प्रदेश २ को प्रथम अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय भएको छ। राष्ट्रिय महाधिवेशन अघि नै ६ वटा प्रदेशको अधिवेशन गरिसकेको कांग्रेसले प्रदेश २ को केहि जिल्लामा भएको आन्तरिक विवादका कारण अधिवेशन स्थगित गरेको थियो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशन यही पुस ६ र ७ गते  जनकपुरधाममा गर्ने निणर्य गरेको निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए। कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएसँगै प्रदेश २ को अधिवेशनको मिति  टुंगो लागेको हो।  

अब कस्तो बन्ला समीकरण?

प्रदेश २ को अधिवेशनको समय निर्धारण भएसँगै कांग्रेस नेता कार्यकर्ताहरु फेरि चुनावी माहोलमा होमिएका छन्।

यसअघि प्रदेश २ का सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा समूहवाट कृष्णा यादव र विमलेन्द्र निधि समूहबाट रामसरोज यादवको नाम अगाडि सारिएको थियो।

महाधिवेशनमा पहिलो चरणको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि सभापतिका प्रत्यासी निधिले दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गरेका थिए। यससँगै प्रदेश २ मा पनि राजनीतिक समीकरण फेरिने चर्चा चलेको छ।

केन्द्रमा निधिले देउवालाई समर्थन गरेपछि प्रदेश २ मा संस्थापन पक्षले उम्मेदवार दिने हो कि होइन भने विषयमा कांग्रेस नेता कार्यकर्ताबिच बहस हुन थालेको छ। चर्चाबिच विमलेन्द्र निधि समूहबाट सभापतिका दाबेदार रामसरोज यादवले भने अहिले केन्द्रमा देखिएको समीकरण प्रदेशमा देखिने सम्भावना कम भएको बताए।

'चर्चा भइरहेको छ। तर, अहिलेसम्म यसबारेमा छलफल भएको छैन। उहाँहरु लड्नु होला। म पनि लड्न तयार छु' उनले भने।

शेखरको इन्ट्री

देउवा र निधि समूह प्रदेश २ मा फेरि आमनेसामने हुने सम्भावना रहँदै गर्दा शेखर कोइराला समूहको पनि प्रदेश २ मा प्रवेश हुने देखिएको छ। केन्द्रीय सभापतिमा पराजित कोइरालाले यसअघि प्रदेश २ मा सभापतिको दाबेदार सार्वजनिक गरेका थिएनन्। तर, देउवालाई चुनौती दिएका शेखरले अब प्रदेश २ मा आफ्नो उपस्थिति खोज्न सक्ने एक नेताले बताए।

अब हुने प्रदेश अधिवेशनबाट शेखर कोइराला समूहबाट पनि सभापति पदमा दाबी हुने देखिएको छ।

यसअघि रञ्जित कर्णले प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए। तर, पछि महाधिवेशनमा उनले सह-महामन्त्रीको उम्मेदवारी दिएका थिए। अन्तिम समयमा उनले उम्मेदवारी फिर्ता लिँदै शेखर कोइरालाको प्यानललाई समर्थन गर्ने घोषणा गरेका थिए। 

अब प्रदेश २ मा देउवा र निधिले छुट्टाछुट्टै वा साझा उम्मेदवार खडा गरे पनि शेखर कोइराला समूहबाट कर्णले प्रदेश २ को नेतृत्वका लागि उम्मेदवार दिन सक्ने सम्भावना बढेको नेताहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell