PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदेश २ : शेखर कोइराला समूहले सभापतिमा निधिका उम्मेदवार यादवलाई साथ दिँदै, देउवाको दाउ के?



सुमित मिश्र

प्रदेश २ : शेखर कोइराला समूहले सभापतिमा निधिका उम्मेदवार यादवलाई साथ दिँदै, देउवाको दाउ के?

जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा डा. शेखर कोइराला समूहले उम्मेदवार नउठाउने भएको छ। पदाधिकारीमा भने विमलेन्द्र  निधिको समूहसँग तालमेल मिलाउने तयारी अगाडि बढेको छ। कोइराला समूहले आजै साँझसम्म तालमेलका अन्य उम्मेदवारको नाम सार्वजनिक गर्ने जनाएको छ।

यसअघि संस्थापन पक्षबाट रौतहटका निवर्तमान जिल्ला अध्यक्ष कृष्णा यादव र प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका थिए। महाधिवेशन हुनु अघिसम्म मन्त्री यादवलाई सघाउने मनस्थितिमा रहेको कोइराला समूहले सभापति बाहेकका पदमा उम्मेदवार उठाउने निर्णय गरेको छ। तर, उम्मेदवारको नाम अझै टुंगो लागिसकेको छैन।

कोइराला समूहका केही नेताहरुले सभापति लगायतका पदहरुमा मन्त्री यादवसँग तालमेल हुने जनाएका छन्।

कोइराला समूहका नेता रामकृष्ण यादवले भने, ‘उम्मेदवार छनौटका लागि छलफल भएको छ। आजै पत्रकार सम्मेलनबाट समूहका उम्मेदवारहरुको नाम सार्वजनिक गर्नेछौं।’

अन्य समूहसित तालमेल हुने सम्भावनालाई अस्वीकार गर्न नसकिने समेत यादवले उल्लेख गरे।

कोइराला समूहकै नेतृ किरण यादवले भने अन्य उम्मेदवारहरुसँग तालमेल हुने सम्भावना कायम रहेको बताइन्। यादवले प्रदेशमा मतको आँकलन गरी उम्मेदवार उठाउने अथवा तालमेल गर्ने निर्णय आजै हुने जानकारी दिइन्। यद्यपि, सभापतिमा उम्मेदवार नै उठाउने सम्भावना कमजोर रहेको समेत उनले स्वीकारिन्।

कोइराला समूह निकटका जिल्ला नेताहरुका अनुसार सभापतिमा उम्मेदवारी दिनु भन्दा तालमेल गरी चुनावमा जाँदा प्रदेश समितिमा केही सिट प्राप्त हुने सम्भावना रहने छ। स्रोतका अनुसार प्रदेश २ का लागि कोइराला समूहबाट नवनिर्वाचित महामन्त्री गगन थापाका साथै नेता चन्द्र भण्डारी लगायतका नेताहरुले विमलेन्द्र निधिसितसँग एकताका लागि निरन्तर छलफल गरिरहेका छन्।

सभापतिमा मन्त्री यादव र उपसभापतिमा कोइराला समूहबाट उम्मेदवार उठाइने सहमति भएको छ। प्रदेश २ मा १ हजार ८५० मतदाता रहेका छन्।

प्रदेशमा संस्थापन पक्षको स्थिति बलियो छ। तर, कोइराला समूहले मन्त्री यादवलाई समर्थन जनाएपछि अवस्था फेरिने सम्भावना छ। कोइराला पक्षको समर्थनले प्रदेशको चुनावी समीकरण नै फेरिन सक्छ।

महाधिवेशनमा सन्तुलित भूमिका निर्वाह गरेका मन्त्री यादवले प्रदेश सभापतिको उम्मेदवारी घोषणा पनि स्वतन्त्र रुपमा नै गरेका हुन्। उनले आफूलाई गुट भन्दा अलग राखेर उम्मेदवारी दिएको दाबी गर्दै आएका छन्। यद्यपि, उनी निधि निकट नेता हुन्। कोइराला समूहले यादवलाइ सभापतिमा सघाउने उनको विश्वास छ।

महाधिवेशन अगाडि ६ वटा प्रदेशको अधिवेशन सम्पन्न भइसके पनि प्रदेश २ को नेतृत्व चयन प्रक्रियालाई पछाडि धकेलिएको थियो। प्रदेश नेतृत्वका लागि निर्वाचन समितिले मंगलवार मनोनयन दर्ता लगायतका प्रक्रियाहरु र बुधवार मतदानको कार्यक्रम सार्वजनिक गरिसकेको छ। प्रदेश २ का आठवटै जिल्ला अधिवेशन भने बाँकी नै छ । केही जिल्लामा वडा र क्षेत्रीय अधिवेशन समेत हुन सकेको छैन।

अधिवेशन बहिष्कारको चेतावनी

सर्लाही जिल्लाको बलरा नगरपालिकाको वडा नम्बर ८ र ९ को प्रतिनिधि छनौट नभए निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश (क) र (ख) का प्रतिनिधिहरुले अधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन्।

सर्लाही क्षेत्र नम्बर ४ का सांसद समेत रहेका नेता अमरेश कुमार सिंहले वडाको प्रतिनिधि छनौट नगरिए क्षेत्रको (क) र (ख) प्रदेश क्षेत्रले प्रदेशको चुनाव बहिष्कार गर्ने चेतावनी दिएका हुन्।

सर्लाही जिल्लाको अधिवेशन सम्पन्न भए पनि वलरा वडा नम्बर ८ र ९ को प्रतिनिधि छनौट हुन सकेको छैन्। सिंहलाई महाधिवेशन प्रतिनिधिमा हराइएको हो। सांसद सिंह कांग्रेसको केन्द्रीय राजनीतिमा डा शेखर कोइराला समूहमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell